नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पूर्ण महासमितिको बैठक आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
बुधबार काठमाडौंमा आयोजित सो पक्षको बागमती प्रदेशस्तरीय भेलाले पार्टीको बृहत एकता, संगठनात्मक पुनर्जागरण, विधान संशोधन,आन्तरिक लोकतन्त्र र आगामी राजनीतिक दिशाका विषयमा गम्भीर छलफल गर्न शीघ्र पूर्ण महासमितिको बैठक आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको कांग्रेस नेता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।
१५औँ महाधिवेशनलाई पारदर्शी निष्पक्ष, स्वतन्त्र र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित गर्न सहमतिको साझा संयन्त्र निर्माण गर्नुपर्ने उहाले बताउनुभयो । राष्ट्रिय सभामा दलको नेता परिवर्तन गरिएको विषयमा उठेका प्रश्नहरूलाई ध्यानमा राख्दै उक्त निर्णयको कारण, प्रक्रिया र औचित्य पारदर्शी रूपमा स्पष्ट गर्न समेत सो समूहले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ भने प्रतिशोधको भावनाबाट प्रेरित देखिने निर्णयहरूले बृहत एकता, आपसी विश्वास र सहकार्यमा समस्या सिर्जना गर्न सक्ने भएकाले त्यस्ता प्रवृत्तिबाट बच्न समेत नेतृत्वको ध्यानाकर्षण गराइएको नेता महतले बताउनुभयो ।
त्यसैगरि भेलाले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई तदर्थवादमा अल्झाउने र कार्यसमितिहरू विघटन गर्ने प्रवृत्ति अन्त्य गरी नियमित महाधिवेशनमार्फत लोकतान्त्रिक प्रक्रियाबाट वैधानिक नेतृत्व चयन गर्न समेत माग गरेको छ । त्यस्तै निर्वाचनको पराजयको कारण निर्वाचनको मुखमा पार्टीको विशेष महाधिवेशन गरी विभाजित मनस्थिति सिर्जना हुनु प्रमुख कारण भएको समेत भेलाले निष्कर्ष निकालेको नेता महतले बताउनुभयो ।
पार्टी सदस्यता अध्यावधिक गर्ने नाममा पहिलेनै टुंगो लागिसकेका सदस्यतालाई पुनः विवादित बनाउनु पार्टीको हितमा नहुने निष्कर्ष पनि भेलाले निकालेको छ । साथै भेलाले समूहगत परामर्शबिना बिना प्रतिनिधित्वको नाममा केन्द्रीय समितिमा गरिएको मनोनयनले बृहत एकताको वातावरण बिगार्ने काम गरेकाले यस्तो गतिविधि तत्काल रोक्न समेत माग गरेको छ ।


