उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच भएको एकतालाई निर्वाचन आयोगले मान्यता दिएको छ ।
गत पुस २७ गते जसपा नेपाल र लोसपा नेपालबिच औपचारिक रूपमा एकता घोषणा भएको थियो । निर्वाचन आयोगलाई दुई पार्टीबिच एकता भएको जानकारी गराउँदै फागुन २१ सम्पन्न चुनावमा दुवै पार्टी एकीकृत रूपमा सहभागी भएका थिए । तर एकताका लागि बुझाएको कागजातमा केही नेता दुई वटा पार्टीमा रहेको देखिएको भन्दै त्यसलाई स्पष्ट गर्न तथा अन्य अपुग कागजात निर्वाचन आयोगले जसपा नेपालसँग माग गरेको थियो । अपुग सबै कागजात आयोगमा बुझाएपछि त्यसको आधिकारिताको पत्र आज प्राप्त भएको सो पार्टीका नेता शैलेन्द्र साहले बताए ।
यसअघि भएको एकता प्रक्रियामा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी पनि सहभागी थिए, तर अहिले निर्वाचन आयोगले दिएको मान्यतामा उनीहरूको पार्टी समावेश छैन ।


