२०८३ बैशाख ३१, बिहीबार ०७:४९

एकता– फूटको श्रृंखला बोकेको मधेश केन्द्रित दल मध्येका मुख्य दुई दल बीचको एकताले लामो समयको अन्तरालपछि मूर्तरुप लिएको छ । कुनै बेला राजनीतिक शत्रुका रुपमा चिनिने जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुरबीच पुनः एकीकरण भएको छ ।

पार्टी एकता र पार्टी फूटको लामो अनुभवसंगै बाध्यात्मक अवस्थामा आएर पुनः गरिएको एकताको बीचमा पनि प्रतिनिधिसभा निर्वाचनका सकारात्मक परिणाम नआएपछि यसपटक निर्वाचन अघि गरिएको जसपा नेपाल र लोसपा नेपाल बीचको एकताले निर्वाचन भएको बैशाख अन्तिम महिनामा मूर्तरुप पाएको छ ।

काठमाण्डुस्थित निर्वाचन आयोगले बुधबार जसपा नेपाल र लोसपा नेपालबीच भएको पार्टी एकतालाई निर्वाचन आयोगले औपचारिक रुपमा मान्यता दिएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालले गत पुस २७ गते औपचारिक रूपमा एकता घोषणा गरेका थिए । त्यसपछि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि दुबै पार्टी संयुक्त रूपमा सहभागी भएका थिए ।

एकता सम्बन्धी कागजात निर्वाचन आयोगमा बुझाउँदा केही नेताको नाम दुबै पार्टीमा देखिएको भन्दै आयोगले स्पष्टीकरण र थप कागजात माग गरेको थियो । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी कागजात बुझाएपछि निर्वाचन आयोगबाट आधिकारिक मान्यताको पत्र प्राप्त भएको जसपा नेपालका नेता शैलेन्द्र साहले जानकारी दिए ।यसअघि भएको एकता प्रक्रियामा जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी पनि सहभागी भएका थिए । तर निर्वाचन आयोगले दिएको अन्तिम मान्यतामा ती दुई दल समावेश भएनन् ।

पार्टीका नेता सुरेन्द्र कुमार झाले जनाए अनुसार तराई मधेश लोकतान्त्रिक पार्टी-तमलोपा) का अध्यक्ष वृषेशचन्द्र लालले यसअघि नै पार्टी एकताबाट अलग भएको घोषणा गरिसकेका थिए । त्यस्तै हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा अझैसम्म पनि कायम रहेकाले तत्काल एकता प्रक्रियामा समावेश गर्न नसकिएको जसपा नेपालका एक नेताले जनाएको छ । एउटै व्यक्ति दुईवटा दलमा रहन नसक्ने कानुनी व्यवस्थाका कारण जनता प्रगतिशील पार्टीलाई हालको एकतामा समावेश नगराइएको नेता झाले बताए ।

नेता त्रिपाठीले आफ्नो पुरानो पार्टी खारेज गरेपछि उनलाई जसपा नेपालमा समावेश गराइने तयारी भइरहेको बताए । नेता साहले दिएको जानकारी अनुसार निर्वाचन आयोगले जसपा नेपाल र लोसपा नेपालबीच एकता भएको जानकारी संघीय संसद् सचिवालय तथा प्रदेश सभा सचिवालयहरूलाई समेत पठाइसकेको छ ।

यससंगै प्रदेश तहमा पनि पार्टी एकीकरण प्रक्रियाले पूर्णता पाउने अपेक्षा गरिएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनको क्रममा जसपा नेपालमा लोसपासंगै एकता भइ आएका तमलोपाका नेतालाई बेवास्ता गरिएको भन्दै नेता वृषेशचन्द्र लालले आपत्ति जनाउँदै अलग रहने निर्णय गरेकम थिए । निर्वाचनको क्रममा दुबै पार्टीबीचको एकता तल्लोस्तरमा नपुगेको कारणले गर्दा मधेश प्रदेशमै र समानुपातिकमा पनि शून्य हुनु परेको छ ।

विगतमा उपेन्द्र यादव र महन्थ ठाकुर मिलेर ठूला दल बने लगत्तै अलग हुने गरेकाले यसपटकको निर्वाचन अघि नै दुबै दल एक भए पनि आममतदाताले विश्वास नगर्दा मधेश प्रदेशमा पनि शून्यताको अवस्थाबाट गुज्रिनु परेको छ । एकता प्रक्रिया टुंगिएसंगै जसपा नेपालको कार्यान्वयन समिति ५४ सदस्यीय बनेको छ । सो समितिमा महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहेका छन् भने अन्य सदस्यहरू कार्यसमितिमा समावेश छन् ।

Comment


Related News

Latest News

Trending News