मधेश प्रदेशले वर्षौंदेखि एचआईभी एड्स विरुद्धको अभियान चलाउँदै आएको छ । एचआईभी एड्सको उपचार र जनचेतनाका अनेक प्रयास गर्दै आको मधेश प्रदेश सरकारले दाबी गर्दै आएको छ । तर एचआईभी एड्सको अवस्था भने मधेश प्रदेशमा चिन्ताजनक रहेको एक तथ्यांकले पुष्टि गरेको छ ।
मधेश प्रदेशको ग्रामिण भेगदेखि सहरसम्म संक्रमणको जोखिम कायम रहँदा हजारौँ नागरिक नियमित औषधिको भरमा जीवन धानिरहेका छन् । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा मात्रै प्रदेशभर ४ हजार ६ सय ८० जना संक्रमित एन्टिरेट्रोभाइरल थेरापी -एआरटी) उपचारमा रहेका छन् ।
एचआईभी एड्सको उपचारको पहुँच विस्तार भए पनि संक्रमण नियन्त्रणको चुनौती भने अझै टरेको छैन । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका एचआईभी एड्स तथा कुष्ठरोगका फोकलपर्सन राजवीर यादव परीक्षणको दायरा बढे पनि सामाजिक विभेद र लाञ्छनाका कारण धेरै संक्रमित अझै स्वास्थ्य सेवाको पहुँचबाहिर रहेको बताए । उनले मधेश प्रदेशमा सबैभन्दा बढी संक्रमित पर्सा जिल्लामा रहेका छन् ।
पर्सामा मात्रै १ हजार ५ सय ४ जना संक्रमित उपचारमा रहेको उनको भनाइ छ । मधेश प्रदेशको धनुषामा ८ सय ८६, सर्लाही मा ५ सय ५८, सिराहामा ४ सय ५७, रौतहट मा ४ सय २२, महोत्तरी मा ३ सय ७१, बारा मा २ सय ८८ तथा सप्तरी मा १ सय ९४ जना एचआईभी एड्स संक्रमित रहेका छन् ।
आर्थिक वर्ष २०८१/०८२ को तथ्यांकअनुसार मधेश प्रदेशभरि चार हजार ६ सय ८० जना संक्रमित फेला परेको छ । उनले जनाए अनुसार आर्थिक वर्ष २०७६/०७७ मा मधेश प्रदेशभर १४ हजार ६ सय २ जनाको एचआईभी परीक्षण गरिएको थियो । यो संख्या बढेर आर्थिक वर्ष २०८१/०८२ मा ७६ हजार ७ सय ९२ पुगेको छ ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ४ सय संक्रमित फेला परेका थिए, भने २०७७/०७८ मा ४ सय ७५, २०७८/०७९ मा ६ सय ७५, २०७९/०८० मा ६ सय ६, २०८०/०८१ मा ५ सय १० र २०८१/०८२ मा ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । मधेश प्रदेशमा खुला सीमा, वैदेशिक रोजगारी, असुरक्षित यौन सम्पर्क, सुईमार्फत् लागुऔषध प्रयोग तथा यौनजन्य रोग संक्रमण फैलिने प्रमुख कारणका रूपमा रहेको उनको भनाइ छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले जनाए अनुसार मधेश प्रदेशमा १० सरकारी र १ गैरसरकारी एआरटी केन्द्र सञ्चालनमा छन् । यस्तै एचआईभी परीक्षण तथा परामर्श सेवा, भाइरल लोड परीक्षण, प्रारम्भिक शिशु परीक्षण लगायत सेवा पनि आठवटै जिल्लामा उपलब्ध छन् । चालु आर्थिक वर्षमा १६ जना गर्भवती महिलामा एचआईभी संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार समयमै परीक्षण र उपचार नगरे आमाबाट बच्चामा संक्रमण सर्ने जोखिम उच्च हुन्छ । त्यस्तै मधेश प्रदेशमा १८ वर्षमुनिका १ सय ७५ बालबालिका एचआईभी संक्रमित रहेको तथ्यांक सार्वजनिक गरिएको छ । तीमध्ये ४७ जना एकल अभिभावकविहीन र २० जना पूर्ण अनाथ रहेका छन् ।
संक्रमित बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा पोषणका लागि मासिक १ हजार नगद सहायता रकम उपलब्ध हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले न्यून स्रोत साधनका बाबजुत पनि प्रदेश सरकारका निकायहरुले गरि हरहेको नियन्त्रणको प्रयास सह्राहनीय रहेको बताए । खुल्ला सीमा, वैदेशिक रोजगारी, असुरक्षित यौन सम्पर्क र लुकेर सञ्चालन हुने यौन व्यवसायका कारण संक्रमण नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।


