पूर्व–पश्चिम लोकमार्गसँग जोडिएको चन्द्रपुर नगरपालिका–५ स्थित चाँदी पुल नजिक बिहीबार बिहान एक युवक रक्ताम्मे अवस्थामा मृत फेला परेका छन्। बिहानै सडक किनारमा शव भेटिएपछि स्थानीयवासी त्रसित बनेका छन् भने घटनाले क्षेत्रमा चर्चा र चासो बढाएको छ।
मृतक माधव नारायण नगरपालिका–१ दिपही निवासी २४ वर्षीय रंजय कुमार यादव रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता विष्णु प्रदीप बस्याल का अनुसार बिहान करिब साढे ६ बजे स्थानीयले सडक छेउमा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर बाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पतालमा राखिएको जनाएको छ।
प्रहरीका अनुसार घटनालाई शंकास्पद रूपमा हेरिएको छ। मृतकको टाउकोमा गहिरो चोट देखिएकाले सवारी दुर्घटना, कुटपिट वा अन्य आपराधिक गतिविधिमध्ये कुन कारणले घटना भएको हो भन्ने विषयमा अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ। आसपासका व्यक्तिसँग सोधपुछ गर्नुका साथै घटनास्थल वरपरका गतिविधिबारे पनि अनुसन्धान भइरहेको बताइएको छ।


