रौतहट प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै चालु आर्थिक वर्षमा २११ जना दोषी ठहर भएका प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ। अदालतबाट सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई विशेष अभियानमार्फत पक्राउ गरिएको हो।
जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजालको निर्देशनमा सञ्चालित अभियान अन्तर्गत पछिल्ला तीन दिनमै ३४ जना फरार प्रतिवादी पक्राउ परेका छन्। प्रहरीका अनुसार बिहीबार मात्रै ५ जना तथा त्यसअघि २८ र २९ गते २९ जना पक्राउ परेका हुन्।
पक्राउ परेकामध्ये चेक अनादर मुद्दाका धनराज पण्डित र नगिना साह सोनार, लागूऔषध मुद्दाका निरज यादव, ज्यान मार्ने उद्योग मुद्दाका राजेश महतो तथा चोरी कसुरमा विश्वेश्वर महतो रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार साउनदेखि वैशाखसम्म सञ्चालन गरिएको अभियानमा पक्राउ परेका प्रतिवादीहरूबाट २७ लाख २० हजार ५४ रुपैयाँ जरिबाना असुल गरिएको छ। साथै ३८ वर्ष, १९७ महिना र १७० दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको तथ्यांकअनुसार वैशाख महिनामा सबैभन्दा बढी ५३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। मंसिरमा ३४ जना, माघमा २१ जना तथा असोज र चैत्रमा १८र१८ जना पक्राउ परेका थिए।
त्यसैगरी चालु आर्थिक वर्षमा रौतहटमा ९१० वटा मुद्दा दर्ता भएकोमा ५८६ जना प्रतिवादी पक्राउ परिसकेका छन् भने अझै ७४० जना फरार रहेको प्रहरीको तथ्यांक छ।
रौतहट प्रहरीले फरार प्रतिवादी खोजी अभियानलाई आगामी दिनमा अझ सशक्त र प्रभावकारी बनाइने जनाएको छ।


