राष्ट्रपति रामचन्द्र पौडेलले बेरुजु फछ्र्यौट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन आग्रह गर्नुभएको छ ।
शुक्रबार शितल निवासमा महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको भन्दै बेरुजु फछ्र्यौट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन आग्रह गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भए मात्रै मुलुकमा दिगो, शान्ति, सुशासन, विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो । प्रतिवेदनमा उठान भएका विषयवस्तुले सम्बन्धित निकाय र सरोकारवालाहरुलाई अझ बढी जवाफदेहीताबोध गराउने उहाँको भनाइ थियो । आगामी दिनमा संस्थागत सक्षमता, पेशागत क्षमता अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फसमेत कार्यालय अझ क्रियाशिल हुनुपर्ने उहाले बताउनुभयो ।
कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गर्नुभएको थियो । सो क्रममा महालेखापरीक्षक रायाले आर्थिक वर्ष २०८१/०८२ मा ८८ अर्व ८ करोड ११ लाख कुल बेरुजु कायम भएको जानकारी दिनुभयो । जसमध्ये संघीय कार्यालयको ५३ अर्व ४८ करोड ७७ लाख, प्रदेश सरकारी कार्यालयको ५ अर्व २२ करोड ८७ लाख, स्थानीय तहको १९ अर्व ४ करोड ७७ लाख र समिति तथा अन्य संस्थाको १० अर्व ३२ करोड ७० लाख बेरुजू रहेको उहाले बताउनुभयो ।
सार्वजनिक निकायहरूको अघिल्लो आर्थिक वर्ष २०८१/०८२ लेखापरीक्षणमा आधारित विवरणसहित महालेखाले प्रतिवेदन तयार पारेको हो ।


