२०८३ जेष्ठ ३, आईतवार ०६:५७

नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि पार्टीमा देखिएको विवाद विभाजनोन्मुख छ । असन्तुष्ट पक्षले प्रदेश स्तरीय भेलाको आयोजना गर्न थालेपछि पार्टी विभाजन हुनेतर्फ जान लागेको नेताहरुले बताउन थालेका छन् ।तर असन्तुष्ट पक्षकै केही नेताहरुले कुनै हालतमा कांग्रेस विभाजन नहुने दाबी गरेका छन् ।

मधेश प्रदेशमा असन्तुष्ट पक्ष अत्यन्त कमजोर देखिएको छ ।पूर्व सभापति शेरबहादुर देउवा पक्षधर अधिकांश नेताहरु संस्थापन पक्षतर्फ लागिसकेका छन् ।पछिल्लो पटक १९ जनालाई केन्द्रीय समिति सदस्यमा सभापति गगन थापाले मनोनित गर्दा देउवा समूहका धेरै नेताहरु परेका छन् । कांग्रेसमा सबैलाई समेटेर लानु पर्ने जिम्मेवारी सभापति थापाको रहेको असन्तुष्ट पक्षका नेता आनन्द प्रसाद ढुंगानाले बताए ।‘सभापति देउवा हुँदा कांग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढाएको थियो’ उनले भने, थापाले पनि कांग्रेसमा असन्तुष्ट देखिएकाहरुको भावना बुझन जरुरी छ ।

एमालेसित साँठगाँठ गर्न नहुने बताउने थापा लगायतका नेताहरुले आखिर एमालेसित तालमेल गर्न त प्रयासमा जुटेको उल्लेख गर्दै नेता ढुंगानाले भने, कांग्रेस पार्टीमा देउवाको महत्वलाई बुझेर नै तत्कालीन सभापति गिरिजा प्रसाद कोइरालाले वरिष्ठ नेता बनाएका थिए । कांग्रेस नफुटे पनि एक ढिक्का गर्न नसके राष्ट्रियता र लोकतन्त्र दुबै कमजोर हुने उनले बताए ।कांग्रेस कमजोर रहेको अवस्थामा राष्ट्रियता र लोकतन्त्र बलियो रहन नसक्ने ढुंगानाले जनाए ।

मधेश प्रदेशमा असन्तुष्ट पक्षतर्फ नेता ढुंगाना र पूर्व सभापति विमलेन्द्र निधि बाहेक प्रभावशाली नेता छैनन् ।जेनजी आन्दोलन अगाडिसम्म मधेश प्रदेशमा देउवा समूह अत्यन्त बलियो थियो ।त्यसपछि कांग्रेसमा भएको विशेष महाधिवेशनले देउवा पक्षलाई निकै कमजोर बनायो । मधेश प्रदेशमा देउवाको प्रबल पक्षधर मानिएका महेन्द्र यादव अहिले केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।सहमहामन्त्री रहेका यादवलाई सभापति थापाले मनोनित गरेका १९ जना मध्ये शीर्ष वरीयतामा राखेका छन् ।

मधेश प्रदेशको आठवटै जिल्लामा संस्थापन पक्ष सबल बनेको छ ।मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादव लगायतका नेताहरु संस्थापन तर्फ लागेका छन् ।यादव मधेश प्रदेशका सभापति पनि हुन् । लोकतान्त्रिक पार्टीमा फरक मत राख्न पूर्ण स्वायत्तता रहे पनि अहिलेको अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्नुपर्ने केन्दी्रय सदस्य महेन्द्र यादवले बताए ।‘खारिएका अनुभवी नेताहरुले कांग्रेस नेतृत्वलाई मार्गदर्शन गरी अगाडी बढ्नु पर्छ’ उनले भने, अझै पनि गुट बनाएर बसे पछाडि परिनेछ ।

कांग्रेसमा गुटगत सक्रियताको प्रभाव मधेश प्रदेशको सरकारमा पनि परेको छ ।संस्थापन पक्षका कयौं सांसदहरुले मुख्यमन्त्री कृष्ण यादवको सरकारलाई ढाल्न फ्लोर क्रस गर्ने तयारी गरेका थिए ।कांग्रेस संसदीय दलमा संस्थापन पक्षको बाहुल्यता देखिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने समय जेठ ८ गतेलाई सारेका छन्।

कांग्रेस विभाजन हुनेमा धेरैको विश्वास छैन् ।तर गुटबन्दीले कांग्रेसलाई निकै कमजोर बनाएको छ ।असन्तुष्ट पक्षले पार्टीको ’जरा’ अभियानमा सहभागी छैनन् ।उनीहरुले जरा अभियानको विरोध नगरे पनि त्यसमा सहभागी भइरहेका छैनन् ।पार्टी तल्लो निकायमा कमजोर देखिएकोले जरा अभियान मार्फत बलियो बनाउने प्रयास गरिएको छ ।

संस्थापन पक्षले देशव्यापी जरा अभियान चलाइरहेको बेला असन्तुष्ट पक्षले सुदुरपश्चिममा प्रादेशिक भेला गरेको छ ।सभापति थापा पनि देश दौडहामा छन् । असन्तुष्ट पक्षको कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सक्रियतामा आयोजित प्रादेशिक भेलालाई संस्थापन पक्षले गम्भीर रुपमा लिएको बताएको छ ।तर नेता ढुंगानाका अनुसार सबै प्रदेशमा कार्यकर्ता भेलाको आयोजना गरिने जनाएका छन् ।

‘विशेष महाधिवेशनमा हस्ताक्षर गरेका बाहेकका प्रतिनिधि र नेता आफूहरुसित नै रहेका छन्’ उनले भने, प्रादेशिक भेलाबाट नेता, कार्यकर्ताहरुलाई उत्साह बढाएर जोड्ने काम भइरहेको छ । जेनजी आन्दोलनले देशको सबै भन्दा पुराना र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसको जरा सम्मै हल्लाइदिएको छ ।कांग्रेस भित्रको कलह जारी नै छ ।

Comment


Related News

Latest News

Trending News