पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनाैतीहरूप्रति गम्भीर हुन नेकपा एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ ।
काठमाण्डाैको बल्खुमा रहेको मदननगरमा आज आयोजित ३३औँ मदन आश्रित स्मृति सभामा बोल्दै उहाँले एमालेले आत्मा सुधार, एकता र नागरिकसँगको सम्बन्धलाई सुदृढ बनाउँदै अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले एमालेमा सिद्धान्त र व्यवहारबीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरू उठ्ने गरेको भन्दै त्यसलाई अन्त्य गर्नका लागि जनमुखी कार्यशैली, आत्म अनुशासन र सेवाभावलाई व्यवहारमा उतार्दै अघि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयाे ।
पूर्वराष्ट्रपति भण्डारीले एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै अब नागरिकको सेवाभावमा बढी केन्द्रित हुनुपर्ने बताउनुभयो । जनमुखी कार्यशैली, आत्म अनुशासन र सेवाभावका साथ अघि बढे मात्रै राजनीतिक दलहरूको शक्ति बलियो हुने उहाँको भनाइ छ ।
भण्डारीले भन्नुभयो, ‘विगतमा उपलब्धिहरूसँगै वर्तमानका चुनौतीहरूप्रति पनि हामी गम्भीर हुन आवश्यक छ । यदाकदा सिद्धान्त र व्यवहारबीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरू उठ्ने गरेका छन् । नागरिककाे विश्वास नै कुनै पनि राजनीतिक दलकाे सबैभन्दा ठूलो शक्ति हो । यदि पार्टी र नागरिकबीच दूरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुन्छ । त्यसैले हामीले नागरिकको भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्दछ । राजनीति जनसेवा र समाज रूपान्तरणको अभियान हो भन्ने मान्यतालाई स्थापित गर्न अविचलित ढङ्गले हामी क्रियाशील हुनुपर्दछ । कार्यकर्ताहरू नागरिककाे बीचमा पुग्नुपर्दछ । नागरिकको दुःखसुखमा सहभागी हुनुपर्दछ । समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय बन्नुपर्दछ ।’

