२०८३ जेष्ठ ३, आईतवार १६:३७

नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रमा नागरिकको मर्यादा र स्वतन्त्रता पूर्वाधार विकासभन्दा महत्त्वपूर्ण हुने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र नैतिक पुनर्जागरणको आवश्यकता रहेको औंल्याए।

सभापति थापाले पछिल्लो समय विकासका नाममा नागरिक अधिकारलाई संकुचित पार्ने अनुदारवादी लोकतन्त्र (इलिलिबरल डेमोक्रेसी) को अभ्यास हुन खोजेको भन्दै चिन्ता व्यक्त गरे।

उनले भने, ‘विकासका नाममा नागरिकको सहभागीता र प्रश्न गर्ने अधिकारलाई अवरोध ठान्नु गलत हो। नागरिकको आत्मसम्मान र डिग्निटीबिनाको विकासले लोकतन्त्रलाई बलियो बनाउँदैन।’

नेपालको इतिहास र राजनीतिक घटनाक्रमको चर्चा गर्दै थापाले पञ्चायत र माओवादी सशस्त्र विद्रोहका समयमा पनि विकासका नाममा अधिकार खोस्ने प्रयास भएको स्मरण गरे।

‘३० वर्षको पञ्चायतलाई अहिले विकासको स्वर्णिम युगका रूपमा व्याख्या गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘तर लोकतन्त्रबिनाको विकास दिगो हुन सक्दैन भन्ने सत्यलाई बिर्सनु हुँदैन।’

पार्टीको आन्तरिक संरचना र आगामी कार्यदिशाबारे बोल्दै सभापति थापाले कांग्रेसले गत निर्वाचनमा गुमाएको १० लाख समर्थकलाई पुनः भरोसा दिलाउनुपर्ने बताए।

उनले पार्टीलाई समुदायसँग जोड्न र प्रत्येक वडा तहसम्म समावेशी बनाउन निर्देशन दिए। दलित, महिला र विशेषगरी ३० वर्षमुनिका युवाहरूलाई पार्टीमा स्थान दिनुपर्ने उनको जोड थियो।

थापाले पार्टीभित्र नयाँ पुस्ताको ज्ञान र पुरानाको अनुभवलाई जोड्न ‘विजडम काउन्सिल’ गठन गर्न लागिएको जानकारी दिए।

साथै, विष्णु प्रकाश शर्माको नेतृत्वमा ‘पोलिसी एकेडेमी’ र पुष्पा भुसालको नेतृत्वमा ‘इलेक्सन ब्युरो’ ले काम गरिरहेको उनले सुनाए।

उनले पार्टीभित्रको गुटबन्दी र आन्तरिक असमझदारीलाई अन्त्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए। १४औं महाधिवेशनपछि बाहिर रहेका नेताहरूलाई पनि सम्मानजनक रूपमा समेटेर लैजाने उनको प्रस्ताव थियो।

उनले भने, ‘हामीले अब घटनाका पछाडि दौडने होइन, एउटा स्पष्ट विचार र पद्धतिका साथ अघि बढ्नुपर्छ।’

पार्टीको क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्ने कार्यमा प्रविधिको प्रयोग गरी पारदर्शी बनाइने उनले स्पष्ट पारे। अब पार्टीले उम्मेदवार छनोट गर्दा ‘प्राइमेरी’ निर्वाचन प्रणाली अवलम्बन गर्ने र पारदर्शी ढंगले अघि बढ्ने सभापति थापाको भनाइ थियो।

Comment


Related News

Latest News

Trending News