२०८३ जेष्ठ ५, मंगलवार ०७:२८

नेपाली कांग्रेसले स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायलाई हटाउने भएको छ । पार्टीको उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका स्वास्थ्य तथा जनसंख्या मन्त्री रायलाई हटाउने तयारी थालिएको स्रोतले दाबी गरेको छ ।

उनलाई हटाइएपछि सर्लाहीबाट निर्वाचित प्रदेश सभासदस्यसमेत रहेका पूर्वमन्त्री वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गर्ने आन्तरिक तयारी थालिएको स्रोतले जनाएको छ । वैशाख १६ गते कांग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई स्पष्टीकरण सोधेको थियो ।

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले ०८२ फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा विभिन्न प्रदेशका मन्त्री तथा सांसदलाई पाँच दिनभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गर्ने निर्णय गरेको थियो ।

स्पष्टीकरण सोधिएकामध्ये मधेश प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल राय, लुम्बिनी प्रदेशका वन मन्त्री तथा महासमिति सदस्य देवकरण प्रसाद कलवार (सन्तु), कोशी प्रदेशका पूर्व केन्द्रीय सदस्य तथा मन्त्री प्रदीप सुनुवार र लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने रहेका छन् । त्यसैगरी लुम्बिनी प्रदेशका उपसभापति तथा प्रदेश सभा सदस्य राजु खनाल, सकुन्ती देवी महरा र कौशल किशोर रायलाई पनि स्पष्टीकरण सोधिएको थियो ।

अनुशासन समितिले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको विषयलाई गम्भीर रूपमा लिँदै तोकिएको समयभित्र जवाफ पेश गर्न निर्देशन दिए पनि कतिपयले सन्तोषजनक जवाफ नदिएको र केहीले अझैसम्म लिखित स्पष्टीकरण नदिएको भन्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री रायलाई हटाइने स्रोतले दाबी गरे ।

उनको विकल्पमा प्रदेशसभा सदस्य सिंहलाई सो पदमा नियुक्त गरिने स्रोतको भनाइ छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा जंगीलाल राय २०८२ पुसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री यादवको कार्यशैली र मधेश प्रदेश सरकार सञ्चालनलाई लिएर कांग्रेसभित्र असन्तुष्टि देखिन्छ । तर तत्काल मन्त्री रायलाई हेरफेर गरिने र तत्काल मुख्यमन्त्री फेर्ने विषयलाई थाति राखिएको कांग्रेसका एक शीर्षनेताले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News