संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश हुनुभएका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।
प्रधानन्यायाधीशमा सिफारिश हुनुभएका शर्माकाे नाम समितिको आज बसेकाे बैठकले अनुमोदन गरेको हो । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको समितिका सभापति बाेधनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
सुनुवाइ प्रक्रियाका क्रममा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरीहरूको सन्दर्भमा समेत समितिले निर्णय गरेको छ । सभापति श्रेष्ठका अनुसार प्राप्त उजुरीहरूलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने, वर्गीकरण गर्ने र आवश्यक अध्ययनका लागि सम्बन्धित निकायमा पठाउने सहमति भएको छ ।
विशेषगरी ती उजुरीहरूलाई समीक्षासहित अभिलेखका लागि संवैधानिक परिषदमा नै फिर्ता पठाइने समितिले जनाएको छ । संवैधानिक परिषद्ले वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपतिद्वारा प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।

