नेपाली कांग्रेसका सभापति गगन थापा बुधवार जनकपुरधाम आउन लागेका छन् ।मधेश प्रदेश कांग्रेस संसदीय दलमा देखिएको विवादलाई सुल्झाउन उनी जनकपुरधाममा नेताहरुसित भेंटने कार्यक्रम छ ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले शुक्रवार प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम छ ।गत ४ गते विश्वासको मत लिने क्रममा नेपाली कांग्रेसबाट फ्लोर क्रस निश्चित देखिएपछि मुख्यमन्त्री यादवले ८ गतेलाई सारेका थिए । कांग्रेस भित्रको अन्तरकलह सुल्झिसकेको छैन् ।तर विश्वासको मत लिने तिथि निर्धारण भइसकेकोले कांग्रेसका नेताहरु तनावमा देखिएका छन् ।
स्रोतका अनुसार सभापति थापा निकटका सहयोगी वीरेन्द्र सिंह समूह मुख्यमन्त्री यादवको खिलाफमा छन् ।मुख्यमन्त्रीबाट यादवलाई हटाउन उनी सहितको समूह सक्रिय रहेको छ । हाल मुख्यमन्त्री यादव पनि संस्थापन पक्षमा नै छन् ।यस अघि उनी पूर्ब सभापति शेरबहादुर देउवा समूहमा थिए ।
यादव र सिंह समूह संस्थापन पक्षमा नै रहेकाले सभापति थापाले मनोमालिन्यको अन्त्य गराउने बताइएको छ ।प्रशिक्षण कार्यक्रमका लागि आउन लागेको भनिए पनि थापाको प्रमुख उद्देश्य मधेश प्रदेश सरकारको नेतृत्व जोगाउनु हो । सत्ता साझेदार जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका छन् ।हाल सत्तामा रहेका दलहरु नेपाली कांग्रेसको २२, जनता समाजवादी पार्टी(जसपा)नेपालको २६, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को १४ सिटगरी ६२ सिट रहेको छ ।
जनमत पार्टीले समर्थन फिर्ता लिए पनि सो दलका दुई जना महेश यादव अर्थ र वसन्त कुशवाहा खेलकुद तथा समाजकल्याण मन्त्री छन् । गत ४ गते विश्वासको मत लिन बोलाइएको प्रदेश सभा बैठकमा कुशवाहा विपक्षी बेञ्चमा र यादव अनुपस्थित रहेका थिए । सरकारमा रहने अथवा नरहने निर्णय बुधवार जसपाले गर्ने छ ।दलको नेता चयन हुने बैठकबाट नै सरकारलाई समर्थन गर्ने, नगर्ने विषयमा टुंगो लाग्ने जसपा नेपालका नेताहरुले बताएका छन् ।
तर कांग्रेसका लागि जसपा नेपालको भन्दा ठूलो चुनौती आन्तरिक कलह देखिएको छ ।कांग्रेसमा सुलह हुन नसके सिंह समूहले फ्लोर क्रस गर्ने छन् ।त्यसपछि जसपा नेपालले पनि सरकारबाट बाहिरिने निर्णय गर्ने छ । तर पनि कांग्रेसको सरकारले विश्वासको मत पाउनेमा मुख्यमन्त्री ढुक्क छन् ।जसपा नेपालले विश्वासको मत नदिए नेकपा एमालेले विश्वासको मत दिन तयारी अवस्थामा रहेको छ ।
स्रोतका अनुसार एमाले सरकारमा छिर्न खुट्टा उचालेको छ ।मौका मिल्ना साथ एमालेले सरकारलाई समर्थन गर्दै सत्तामा पुग्नेछ । प्रदेशको बजेट बनाउने अन्तिम समयमा एमाले सरकारमा छिरे अर्थ र भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने विषयमा समेत एक चरणको छलफल कांग्रेससित भइसकेको एकजना सांसदले बताए ।नाम सार्वजनिक नगर्ने शर्तमा उनले भने, सरकार टिकाउन नेकपा र एमालेको समर्थन पर्याप्त छ ।
स्रोतहरुको अनुसार एमालेले जसपा नेपाललाई सरकारबाट अलग्याउन नयाँ सरकार गठनका लागि समर्थन गर्ने आश्वासन दिएको छ ।जसपा नेपाल नेतृत्वको सरकारलाई एमालेले समर्थन गर्नु भन्दा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै मधेश केन्द्रित दलहरुलाई सत्ता बाहिर राख्ने रणनीति बनाएको बताइन्छ ।
यादव नेतृत्वको सरकार रहने अथवा नरहने टुंगो कांग्रेस भित्रबाटै लाग्ने बताइन्छ ।मुख्यमन्त्री यादवलाई समर्थन गर्न सिंह समूहले सरकारमा सहभागिता अनिवार्य शर्त राखेको छ ।तर मुख्यमन्त्री यादवले सर्लाहीबाट जंगीलाल रायलाई स्वास्थ्य मन्त्री बनाइसकेका छन् ।सर्लाहीबाट नै सांसद रहेका सिंहलाई सरकारमा जाने सम्भावना कमजोर छ ।रायलाई हटाएर सिंहलाई भित्र्याउने अवस्थामा मुख्यमन्त्री यादव नरहेको बताइन्छ ।
सभापति थापाले निकास निकाल्नेमा मुख्यमन्त्री यादव पक्ष विश्वस्त देखिएका छन् ।कांग्रेसका प्रमुख सचेतक कुमर कान्त झाले पनि रायलाई मन्त्रीबाट नहटाइने बताएका छन् ।‘स्वास्थ्य मन्त्री रायलाई हटाउने विषय उठेको छैन्’ उनले भने, उनको कार्यशैली र कार्यसम्पादन उत्कृष्ट रहेको छ ।

