सत्ता गठबन्धनका घटक दल जनता समाजवादी पार्टी(नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकीकरण भइ गठन भएको जसपा नेपाल मधेश प्रदेश संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन हुने भएको छ ।
एकीकरण पछि मधेश प्रदेशमा सबैभन्दा ठूलो दल जसपा नेपाल बनेको छ । जसपा नेपाल मधेश प्रदेश संसदीय दलको नेता चयनका लागि प्रदेश सांसदहरुबीच सर्वसम्मत हुन नसक्दा बुधबार निर्वाचन हुने भएको छ । संसदीय दलका नेताका लागि पूर्वमुख्यमन्त्री सरोजकुमार यादव र पूर्वमुख्यमन्त्री लालबाबु राउतले दाबी गर्दै पछि नहट्ने अडान कायमै राखेपछि निर्वाचन हुन लागेको छ । पूर्वमुख्यमन्त्री यादव र पूर्वमुख्यमन्त्री राउत संसदीय दलको नेताका लागि भिड्ने स्रोतको दाबी छ ।
तत्कालीन जसपा नेपालको १८ जना र लोसपाको ८ जना गरी २६ जना सांसद छ । २ जना निलम्बनमा रहेका समेत जसपा नेपालको संख्या २८ पुगेको छ । संसदीय दलको नेता निर्वाचनमा यादव निर्वाचित भएमा कृष्णप्रसाद यादव नेतृत्वको प्रदेश सरकारले निरन्तरता पाउने सम्भावना रहेको स्रोतको दाबी छ । दोस्रोमा नेकपा एमाले २४ र तेस्रोमा नेपाली कांग्रेस २२ जना सांसद रहेका छन् । चौथोमा नेपाली कम्युनिष्ट पार्टी(नेकपा) १४ र पाँचौमा जनमत पार्टीको १२ जना सांसद छन् ।

