रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच आज बेइजिङमा भेटवार्ता भएको छ ।
सीले ग्रेट हल अफ द पिपलमा एक समारोहका साथ पुटिनलाई स्वागत गर्नुभयो । बेइजिङमा भएको भेटमा पुटिनले सीलाई दुई देशबीचको सम्बन्ध ‘अभूतपूर्व उच्च स्तर’ मा पुगेको बताएको बीबीसीले जनाएको छ । लगत्तै दुई प्रतिनिधिमण्डलले द्विपक्षीय वार्ता पनि गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको एक हप्ता नपुग्दै रुसी राष्ट्रपति पुटिन बेइजिङ पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पपछि चिनियाँ राष्ट्रपति सीसँगको शीर्ष वार्ताका लागि रुसी राष्ट्रपति पुटिन हिजो बेइजिङ पुग्नुभएको हो । बेइजिङमा रहँदा पुटिनले रुस र चीनबीच महत्त्वपूर्ण र संवेदनशील मुद्दाबारे छलफल गर्ने ठानिएको क्रेमलिनले जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयले पुटिनको भ्रमण द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन तथा विश्वमा व्यापक स्थिरता र सकारात्मक ऊर्जा प्रवाहको लागि भएको उल्लेख गरेको छ । पुटिन बेइजिङ पुग्दा चिनियाँ विदेश मन्त्री वाङ यी र एउटा सैन्य टुकडीले स्वागत गरेको थियो ।
रुसी राष्ट्रपतिको यो २५औँ औपचारिक चीन भ्रमण हो । दुवै पक्षका अधिकारीले सी–पुटिन बैठकको क्रममा हुने छलफलको मुख्य विषयलाई सार्वजनिक घोषणा गरिसकेका छैनन् । तर यो भेटवार्तालाई विशेष गरी दुई देशको सम्बन्ध, युक्रेन युद्ध, ऊर्जा आपूर्ति शृङ्खला तथा विश्व राजनीति तीव्र रूपमा ध्रुवीकृत भइरहेको सन्दर्भमा अत्यन्तै महत्त्वपूर्ण मानिएको छ ।

