युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्न गम्भीर रुपमा काम भइरहेको बताउनुभएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले बिभिन्न समयमा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले वैदेशिक रोजगारीका क्षेत्र देखिएका ठगी नियन्त्रणलाई प्रभावकारी रूपमा काम भइरहेको बताउनुभएको हो । वैदेशिक रोजगारीका क्षेत्रलाई मर्यादित बनाउन विद्यमान कानुनी व्यवस्था र संरचनाको परिचालन गरिने उहाले बताउनुभयो । उहाले वैदेशिक रोजगारीका क्रममा ठगी घटनाहरुको उजुरीमा समेत मन्त्रालयले अध्ययन गरिरहेको उल्लेख गर्नुभयो । मन्त्री यादवले स्वदेशमा नै प्रयाप्त रोजगारीको सिर्जना गर्दै युवाहरुलाई स्वदेशमा नै परिचालन गर्ने सरकारको मुख्य नीति भएको बताउनुभयो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको सुरक्षाका बारेमा सरकार पूर्णरुपमा चनाखो रहेको भन्दै उहाले उद्दारको प्रतिक्षामा रहेका नेपालीहरुका बारेमा समेत सरकार संवेदनशील रहेको धारणा राख्नुभयो ।

