०८२ फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले संसदमा सानो आकारमा खुम्चिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी-नेकपा) बीच सहकार्यका लागि औपचारिक रुपमा गठबन्धन हुने भएको छ ।
बालेन्द्र साह नेतृत्वको सरकारका कामकारबाही, संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनाविपरीत हुन थालेको भन्दै सरकार र नेपाली जनतालाई सजग र सतर्क गराउन जरुरी रहेको भन्दै कांग्रेस–एमाले–नेकपा बीच वाम–डेमोक्रेट गठबन्धनको गृहकार्य शुरु भएको छ । मुलुक र नेपाली जनाताको अवस्था जटिल बन्दै गएको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन योगदान गरेका दलहरूबीच सहकार्यको आवश्यकता रहेको भन्दै तीन दलबीच बनेको गठबन्धन अनुरुप गृहकार्यस्वरुप नेताहरूबीच लगातार संवाद र छलफललाई तीव्रता दिइएको छ ।
तीन वटै दलका नेताहरू वाम–डेमोक्रेट गठबन्धन निर्माणका लागि पहल भइरहेको स्वीकारेका छन् । कांग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरूबीच औपचारिक/अनौपचारिक भेटघाट र संवादका क्रममा सरकारका ज्यादतीविरुद्ध एक भएर जाने सैद्धान्तिक सहमति जुटे पनि व्यावहारिक रूपमा कसरी जाने भनेर छलफल हुन जरुरी रहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ गते बसेको एमाले सचिवालय बैठकमा कांग्रेस र नेकपाका शीर्ष नेताबीचमा कुराकानी भइरहेको ब्रिफिङ गरेका थिए । ‘अध्यक्षज्यूले यसबारेमा अस्तिको बैठकमा ब्रिफिङ गर्नुभएको छ,’ एमाले सचिव भानुभक्त ढकालले भने, ‘पुनः छलफल गरेर निष्कर्षमा पुग्ने शीर्ष तहमा कुराकानी भएको बुझिएको छ ।’ उनले सदन र सडकमा लोकतन्त्र र सरकारले गरेको ज्यादतीपूर्ण क्रियाकलापविरुद्ध एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने सैद्धान्तिक सहमतिको बोर्डरलाइन बनेको बताए ।
यसका लागि कांग्रेस र नेकपाको विश्वास जित्न प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्न सकिने र सुदूरपश्चिममा नेकपालाई समेत सरकारमा सहभागी गराउने प्रस्ताव अघि सारिएको स्रोतको दाबी छ । अहिले मधेश प्रदेश बाहेक छ वटै प्रदेशमा कांग्रेस–एमाले गठबन्धनको सरकार छ । उनीहरूले केही प्रदेशमा आलोपालो नेतृत्व गर्ने सहमति गरेका थिए ।
उक्त सहमतिअनुसार असारसम्ममा प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्नुपर्नेछ । हाल कोशी, लुम्बिनी र कर्णालीमा एमाले नेतृत्वमा सरकार छ भने बागमती, मधेश, सुदूरपश्चिम र गण्डकीमा कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ । यस्तो अवस्थामा नेकपालाई सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व दिन सकिने एमालेको प्रस्ताव छ भने मधेसमा कांग्रेसकै नेतृत्वको सरकारमा एमाले सहभागी हुने ढंगले छलफल भइरहेको बताइएको छ ।
कांग्रेसभित्रको विवाद मिलाउनका लागि संस्थापन पक्षले थालिएको जरा अभियानको क्रममा पार्टी सभापति गगनकुमार थापाले मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताए । महोत्तरीको बर्दिबासमा बुधबार ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेश प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’ मा बोल्दै सभापति थापाले मधेश प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेसले निरन्तरता दिने स्पष्ट पारे । सभापति थापाले नेपाली कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि बढ्न पार्टीपंक्तिलाई निर्देशन दिए ।
यसैक्रममा सभापति थापाले कांग्रेस– एमाले–नेकपाबीचको गठबन्धनको बारेमा पनि चर्चा गरे । तर नेकपालाई सातमध्ये कुनै एक प्रदेशको नेतृत्व दिनुपर्ने भएपछि कांग्रेसले अहिले नै गठबन्धनमा भएको प्रस्तावमा कांग्रेस आफ्नो भागका हाल रहेका चार प्रदेशमध्ये एक खोसिन्छ कि भनेर निर्णयमा पुग्न नसकेको बताइन्छ ।
सभापति थापाले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ लोकतन्त्रको पक्षमा रहेका शक्तिहरूसँग सहकार्य गर्न कांग्रेस खुला रहेको बताए । नेकपाले गत चैत १९ मा शुरु भएर वैशाख दोस्रो साता सम्पन्न संयोजन समिति बैठकबाटै लोकतन्त्रको रक्षा र संविधानको रक्षार्थ लोकतान्त्रिक शक्तिसँग सहकार्यमार्फत गरेर अघि बढ्ने निर्णय नै गरिसकेको छ ।
नेकपाका प्रवक्ता प्रकाश ज्वालाले नीतिगत रूपमा सहकार्य गर्ने पार्टीको निर्णय भइसकेको भन्दै सहकार्यको पनि पहल भइरहेको बताए । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति थापा र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायतका शीषनेताहरुसंग छुट्टाछुट्टै छलफल भइरहेको बताइएको छ ।

