तत्कालीन जनता समाजवादी पार्टी -जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बीच एकीकरण पछि एकीकृत भएको जसपा नेपालद्वारा मधेश प्रदेशमा संसदीय दलको नेता चयन गरिएको छ ।
जसपा नेपाल मधेश प्रदेश संसदीय दलको नेतामा पूर्वमुख्यमन्त्री सरोज कुमार यादवलाई नै सर्वसम्मत चयन गरिएको जसपा नेपालले जनाएको छ । जसपा नेपाल मधेश प्रदेश संसदीय दलका नेता चयनका लागि केही दिनदेखि निरन्तर रुपमा दुबै पक्षबीचका प्रदेशसभा सदस्यहरु बैठक बसेर सर्वसम्मतको प्रयासलाई निरन्तरता दिएका थिए ।
अन्ततः बुधबार र बिहीबार दुई दिनसम्म बसेको बैठकबाट बिहीबार पूर्वसभामुखसमेत रहेका नेता यादवलाई संसदीय दलको नेतामा चयन गरेको छ । मधेश प्रदेश सभा संसदीय दलको कार्यालयमा बसेको बैठकबाट संसदीय दलको नेतामा सरोजकुमार यादवलाई चयन गर्ने निर्णय गरिएको पूर्वअर्थमन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य सञ्जय कुमार यादवले जानकारी दिए ।
यस अघि संसदीय दलको नेताका लागि पूर्वमुख्यमन्त्री लालबाबु राउत र तत्कालीन लोसपा नेपालका प्रदेशसभा सदस्य जितेन्द्र सोनलले समेत सो पदका लागि दाबी गरेपछि बैठक लम्बिएको थियो । संसदीय दलको नेता यादवलाई सर्वसम्मत रुपमा चयन गरिएको भनिए पनि सोनल समूहका नेताले सामाजिक सञ्जालमा असन्तुष्टि पोख्ने क्रममा जसपा नेपाल मधेश प्रदेशका मुख्यसचिव राम विनोद चौधरीले दलको नेता चयन नगरिएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसपा नेपाल मधेश प्रदेश संसदीय दल समायोजनका लागि आज बसेको बैठकले दलको नेतामा हालसम्म चयन हुन नसकेको जानकारी गराउन चाहन्छु ।’
ह्ुन त सोनल समूहका नेता चौधरीले सामाजिक सञ्जाल अन्तर्गतको फेसबुकमा लेखेर असन्तुष्टि पोखे पनि संसदीय दलको नेता पदका लागि दाबी गरेका पूर्वमुख्यमन्त्री सोनल र पूर्वमुख्यमन्त्री लालबाबु राउतले औपचारिक रुपमा नेता चयनका बारेमा कुनै पनि प्रतिक्रिया सार्वजनिक गरेका छैनन्। तत्कालीन जसपा नेपालको १८ जना र लोसपा नेपालको ८ गरी मधेश प्रदेश सभामा कुल २६ जना प्रदेश सभा सदस्य रहेका छन् ।

