२०८३ जेष्ठ ८, शुक्रबार ११:४४
मलेशियासँगको दुई खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाली महिला टोलीले ‘क्लिन स्वीप’ गरेको छ ।
आज भएको दोस्रो खेलमा नेपालले मलेशियालाई ७ विकेटले हरायो । मलेशियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमा ३ विकेट गुमाएर भेटायो । नेपालकी सम्झना खड्काले नटआउट ३९ रन बनाइन् । मलेशियाका नुर दानिया सुहादा, आइस्या इलेसा फिरदौज र आइन्ना हमिजाह हशिमले १/१ विकेट लिए ।
यसअघि घरेलु मैदान बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको मलेशियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनायो । मलेशियाकी आइन्ना हमिजाह हशिमले १७ रन बनाइन् ।
पहिलो खेलमा नेपालले मलेशियालाई २ विकेटले हराएको थियो । एसीसी महिला प्रिमियर कप र २०औँ एशियन खेलकुद प्रतियोगिताको छनोट खेलअघि नेपालले मलेशियासँग टी–२० शृङ्खला खेलेको हो ।

