प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ । ऊर्जामन्त्री, पूर्वाधारमन्त्रीसहित सरोकारवालासँगको आजकाे छलफलपछि समितिले निर्देशन दिएको हो ।
बैठकका निर्णयहरू सुनाउँदै समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधार आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूले काम अगाडि बढाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समाधान खोज्न समितिले पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको हो ।
मध्यपूर्व युद्धका कारण इन्धन, बिटुमिनलगायत अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्यधिक वृद्धि भई नेपालका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष छ ।
साथै समितिले अहिलेको सार्वजनिक खरिद कानून विकासमैत्री नभएको निष्कर्ष निकाल्दै कार्यान्वयनयोग्य वातावरण बनाउन चालू संसदीय अधिवेशनमै कानून परिमार्जनका लागि विधेयक प्रस्तुत गर्न निर्देशन दिएको छ ।
बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा अहिले देखिएको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको भन्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुका साथै काम नियमित राख्न निर्माण व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

