मधेशको ८ जिल्ला मध्ये बारामा सांगठनिक गतिविधि सुस्त रुपमा अघि बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनाएको छ ।
बाराका सभापति चन्दन स्वर्णकार (सर्राफ) लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि बारा जिल्लामा रास्वपालाई सांगठनिक गतिविधि अघि बढाउन चुनौती थपिदैँ गएको छ । पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा गत वैशाख ३० गते बसेको केन्द्रीय समितिको बैठकले स्वर्णकारको साधारण सदस्यतासमेत खारेज गर्ने निर्णय गरेको थियो ।
केन्द्रीय कार्यालय संगठन विभागका सचिव शंकर श्रेष्ठद्वारा जेठ ६ गते प्रेषित पत्रमार्फत उक्त निर्णयको आधिकारिक जानकारी गराइएको छ । बारा समिति भंग गरिएको छ भने सभापति स्वर्णकारलाई पार्टीबाट निष्कासनसमेत गरिएको छ ।
मधेश प्रदेशको पार्टी संगठन विभाग प्रमुख कामिनी चौधरीले सदस्यता वितरण बाहेक अधिवेशनका कामहरू रोक्न परिपत्र समेत गरेकी छन् । मधेश प्रदेशका आठ जिल्ला मध्ये तुलनात्मक रुपमा सप्तरीमा सांगठनिक रुपमा अघि रहेको रास्वपाले जानकारी गराएको छ । मधेशमा वडा र पालिकाहरुको अधिवेशन ६० प्रतिशत भन्दा बढीमा हुने प्रदेशको संगठन विभाग प्रमुख चौधरीले प्रस्ट् याइन् ।
यता पार्टीको यस कदमप्रति कडा आपत्ति जनाउँदै स्वर्णकारले सामाजिक सञ्जालको फेसबुकमार्फत आफ्नो आक्रोश पोखेका छन् । आफूलाई अन्यायपूर्ण तरिकाले हटाइएको दाबी गर्दै उनले यसलाई ‘राजनीतिक हत्या’ को संज्ञा दिएका छन् ।
स्वर्णकारले जेठ ९ गते शनिबार हुन लागेको बारा जिल्लाको विस्तारित बैठक र अधिवेशनको ठिक अगाडि पारेर आफूविरुद्ध षड्यन्त्र रचिएको आरोप लगाएका छन् । तथ्य र प्रमाणहरूलाई पूर्ण रूपमा नजरअन्दाज गर्दै कुनै निष्पक्ष छानबिन बिना नै केन्द्रले आफूलाई निष्कासन गरेको उनको भनाइ छ । अधिवेशनमा इमानदार पार्टी सदस्यहरूले आफूलाई पुनः जिल्ला सभापति चुन्ने डरले माननीयहरूको दबाबमा यस्तो निर्णय गराइएको दाबी समेत उनले गरेका छन् ।

