२०८३ जेष्ठ ९, शनिबार ०८:२५

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले शुक्रवार विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ६२ जनाले मतदान गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सरकारमा रहेको जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनु परेको हो ।जनमत पार्टीले अर्थमन्त्री महेश यादव र खेलकुद तथा समाजकल्याण मन्त्री वसन्त कुशवाहालाई हटाउन मुख्यमन्त्रीलाई दबाब दिएको थियो ।तर उनले मन्त्रीलाई हटाउन चासो नलिएपछि जनमत पार्टीले दलको नेता परिवर्तनगरी समर्थन फिर्ता लिएको थियो ।

सरकारलाई नेपाली कांग्रेसको २२ , नेकपा एमालेको २४ र नेपाली कम्युनिष्ट पार्टी-नेकपा)को १५ र संघीय समाजवादी पार्टीकी १ जनाले समर्थन गरेका थिए । प्रदेश सभामा हाल १ सय ३ सदस्य रहेका छन् ।त्यसमध्ये जसपा नेपालका २ जना निलम्बनमा छन् । कुल उपस्थित सदस्य संख्या ९९ मध्ये उपसभामुखले मतदानमा भाग लिइनन् ।

जसपा नेपालकी एकजना सांसद अनुपस्थित रहेकी थिइन् । तर जनमत पार्टीका ११ जना सांसदमध्ये १० जनाले सरकारको विपक्षमा मतदान गरे ।सरकारको पक्षमा रहेका अर्थमन्त्री यादव र खेलकुद तथा समाजकल्याण मन्त्री कुशवाहाले पनि विपक्षमा मतदान गरे ।उनीहरुले अन्तिम समयसम्म सरकारलाई साथ दिए पनि विहीबार अबेर राति मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठनको क्रममा हटाएका थिए ।

जसपा नेपालको विहीवार सम्पन्न संसदीय दलको बैठकले सरकारको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो ।तर मुख्यमन्त्री यादवले विहीवार राति सरकारबाट जसपालाई हटाएपछि शुक्रवार भएको विश्वासको मत सम्बन्धी छलफलमा विपक्षमा मतदान गर्ने निर्णय गरिएको जसपाका नेता मनिष सुमनले जानकारी गराएका थिए ।

मधेश प्रदेशको दोस्रो कार्यकालमा यादव पाँचौ मुख्यमन्त्री हुन् ।यस अघि जसपा नेपालका सरोज कुमार यादव, जनमत पार्टीका सतीश कुमार सिंह, लोकतान्त्रिक समाजवादी पार्टी-लोसपा)का जितेन्द्र सोनल र नेकपा एमालेका सरोज कुमार यादव मुख्यमन्त्री बनेका थिए ।त्यसमध्ये सोनल र यादवको कार्यकाल एक महिनाको मात्र रहेको थियो ।

मधेश प्रदेशमा नेकपा एमाले छ महिना भित्र कमब्याक गरेको छ ।मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई हटाउन सर्वोच्च अदालतसम्म पुगेका नेकां संसदीय दलका नेता कृष्ण प्रसाद यादवले सबै दललाई विश्वासमा लिएर कसरत गरेका थिए । यादवको नियुक्तिको क्रममा तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारी बर्खास्त भएकी थिइन् ।

तर एमाले दलका नेता यादवले प्रदेशको राजनीतिमा ठूलो फड्को मार्दै एमालेसित गठनबन्धनमा सरकार बनाउन नचाहने मधेश केन्द्रित दलहरुलाई नै ‘आउट’ गरिदिएका छन् । एमाले स्रोतका अनुसार मो.समिम बिना बिभागीय मन्त्री नियुक्त भइसकेका छन् ।उनी भौतिक मन्त्री बन्ने बलियो सम्भावना छ ।त्यसैगरी धनुषाबाट हरिनारायण महतोको मन्त्री बन्ने सम्भावना छ ।

सिरहाबाट मनोज सिंह मन्त्री बन्ने सम्भावना पनि रहेको स्रोतले जनाएका छन् ।तर धनुषामा लखन दास पनि मन्त्री बन्ने सम्भावित सूचीबाट हटेको छैन् । नेपाली कांग्रेसले पनि एकजना मन्त्री हटाउने तयारी गरेको छ ।स्वास्थ्य मन्त्री जंगीलाल रायको पद बीरेन्द्र सिंहलाई दिने तयारी गरिएको छ ।दुबै गुट बीच समन्वय गर्ने क्रममा रायलाई हटाएर सिंहलाई समावेश गर्ने सहमति भएको स्रोतले जनाएको छ ।

सरकार गठनको बखत पुरानोलाई नदोहर्याउने सहमति मुख्यमन्त्री यादव समेतको उपस्थितिमा भए पनि त्यो सहमतिको कार्यान्वयन हुने सम्भावना छैन् । बजेट बनाउने अन्तिम समयमा एमालेले सर्वाधिक बजेट रहने भौतिक पूर्वाधार विकास मन्त्रालय, शिक्षा र श्रम तथा यातायात मन्त्रालय सहित सरकारमा सहभागी भएको छ ।

छ महिना सरकारमा रहेका मधेश केन्द्रित दलहरु बजेटको बखत सरकारबाट बाहिरिएका छन् । पछिल्लो समय जसपा नेपाल र लोसपाबीच एकीकरण भइसकेको छ ।जनमत पार्टीसित पनि एकीकरणको ‘होमवर्क’ भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News