मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जनता समाजवादी पार्टी -जसपा) नेपालले सरकार ढाल्न गोकुलधामबाट खेल भएको आरोप लगाएका छन् ।
शुक्रवार विश्वासको मत लिनका लागि बसेको बैठकमा विश्वासको मतका लागि दलहरुसँग प्रस्ताव राख्ने सम्बोधनको क्रममा जसपा नेपालका मनिष सुमनले लगाएको आरोपको जवाफ दिदैं मुख्यमन्त्री यादवले यस्तो भनेको हो । उनले जसपा नेपालका सांसद मनिष सुमनले गरेको आलोचनाको जवाफ दिदैं हामीलाई पनि इच्छा थिएन कि संगै हिंडिरहेका साथीको साथ छोडेर नयाँ सहमति बनाउने । तर यस्तो परिस्थिति किन उत्पन्न भयो, कहाँबाट यसको सुरुवात भयो, ती कुरा सबैलाई थाहा भएकै कुरा भएको हो । अरुलाई औँला ठड्याउनु भन्दा आफ्नो छाती पनि हात राखेर एक सोच्नुपर्ने हो । यही सदनबाट आफ्नै पार्टीको सरकार फाल्न पाँच/पाँच पटक प्रयास जनमतले गरेको छ, यस्तो पनि कही पार्टी हुन्छ ।’ उनले थप्दै भने ,’म माथि आरोप लगाउने आफ्नै पार्टी सरकारमा छ, आफ्नै मन्त्री सरकारमा छ दिनरात दौडया छ यसलाई कसरी निकालेर आफू मन्त्री बन्ने मलाई थाहा छैन । म कहाँ को को मन्त्री बन्न आएको हो, मलाई थाहा छैन, मैले चिन्या छैन । गोकुलधाममा दिनका दिन मिटिङ्ग हुन्छ, सत्तारुढकै साथी त होला नि, प्रतिपक्ष पनि होला, उनको धर्म छ, प्रतिपक्षी बिगार्नै चाहन्छ त्यो हामी बिर्सियौं । त्यो पीडा छ मलाई, म यस्तो चाहेको थिएन । तर बाध्य बनाइयो ।’
जसपा नेताको घरलाई गोकुलधामको संज्ञा दिइएको आंकलन गरिदैछ । आफ्नो नेतृत्वमा सरकार बनाउन जसपा नेपालले रणनीति बनाएको थियो, त्यसलाई तोड्न एमालेसँग नयाँ गठबन्धन गरेको भन्ने संकेत उनको थियो । बैठकमा प्रतिपक्षी जसपा नेपालका सांसद मनिष सुमनले कांग्रेसले सत्तारुढ दलहरु खासगरी जसपा नेपालसँग छलकपट गरेको आरोप लगाएका थिए । उनले भने ‘मुख्यमन्त्री यादवले कसरी बिर्सियो, जसलाई हटाउन अर्थात एमालेलाई हटाउन हामीले कुटाई खाएको, आन्दोलन मात्र होइन अदालतसम्म पुगेको, उनलाई मुख्यमन्त्री बनाउन आफ्नै पार्टीका जितेन्द्र सोनललाई हटाएको यस्ता दिनहरु बिर्सेर कसरी ती दलसँग गठबन्धन गरियो, यो निकृष्टको पराकाष्ठा हो ।’ जनमत पार्टी मात्र होइन सत्ता नेतृत्वकर्ता कांग्रेस पार्टी समेतले सरकारको काम कारवाही चर्को आलोचना गरेका थिए ।
जनमत पार्टी संसदीय दलको नेता चन्दन सिंहले सरकारको कामकारवाही सुस्त गतिमा र सरकारमा भएका आफ्ना दलका मन्त्रीलाई काम गर्न नदिई होच्याउने गरेको कार्यशैलीबाट आजित भई सरकारबाट समर्थन फिर्ता लिएको बताएका थिए । जसपा नेपालका मनिष सुमनले सरकारको कार्यशैलीप्रति शुरुदेखि शंका रहेको र काम गर्नबाट रोक्ने काम मुख्यमन्त्रीबाट पटक पटक भएको आरोप लगाएका थिए । सत्तारुढ कांग्रेसका सांसद विरेन्द्र सिंहले सरकारको काम कारवाहीबाट नेपाली कांग्रेस समेत असन्तुष्ट रहेको आलोचना गर्दै संघीयता र लोकतन्त्रको रक्षार्थ हेतु सरकार परिवर्तन गर्नु जनतामा नराम्रो जाने भएकाले वर्तमान सरकारलाई स्थायित्वका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

