२०८३ जेष्ठ १०, आईतवार ०७:०९

धनुषाको मुखियापटी मुसहरनिया गाउँपालिकामा राजनीतिक प्रतिशोधको कारण गाउँपालिका अध्यक्ष जयकुमार यादवले एक विद्यालय नै खारेज गरी अर्कोमा विद्यालयमा गाभेर विद्यार्थी र शिक्षकहरुको भविष्यसँग खेलवाड गरिएको आरोप लगाइएको छ ।

पछिल्लो निर्वाचनमा आफ्ना निकटतम प्रत्याशी रहेका सो विद्यालयका प्रधानाध्यापक नेपाली कांग्रेसका रामबाबु यादवका श्रीमति पूनम यादवले आफ्ले गरेको काज सरुवा नमानेपछि सो विद्यालय मापदण्ड विपरित खारेज गरी अर्को विद्यालयमा गाभिदिएका दिएका हुन् । राजनीतिक प्रतिशोध साध्न अध्यक्ष यादवले गरेको मापदण्ड विपरित आफू कार्यरत विद्यालयका शिक्षकहरुलाई सरुवा गरी अर्को विद्यालयमा मर्ज गरिदिएको प्रधानाध्यापक यादवले एक पत्रकार सम्मेलन गरी बताएकी छिन् ।

अध्यक्ष यादवले अदालतको आदेश समेत अव्हेलना गरेको देखिएको छ । अध्यक्ष यादवले मापदण्ड विपरित गरेको कार्य बारे स्थानीयले गाउँपालिकाको कार्यालय र अध्यक्ष यादवसहित आधा दर्जनभन्दा बढी व्यक्तिविरुद्ध उच्च अदालत जनकपुरधाममा दायर गरेको रिटमा गतवर्ष भदौ महिनामै परमादेश गरेपनि आजसम्म कार्यान्वयन नगरी अध्यक्ष यादवले अव्हेलना गर्दै आएको हो ।

घटना अनुसार अध्यक्ष यादवको निर्देशनमा गाउँपालिका कार्यालयले वडा नम्बर ६ बैरियास्थित राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक यादवलाई २०८१ साउन १३ गते प्रा.वि. मरनामा काज सरुवा गरियो । उनी मापदण्ड विपरित सरुवा गरिएको भनी नगएपछि ५ महिना नपुग्दै पुस महिनामा ३०७ जना विद्यार्थी अध्ययनरत रहेको बैरियाको सो प्राविलाई तीन किलोमीटर टाढामा रहेको राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मीपुरमा मर्ज गरेर विद्यार्थीहरु स्थान्तरण गरिदिए ।

बैरियाका अभिभावकलाई स—साना बालबालिकालाई तीन किलोमीटर टाढा लक्ष्मीपुरमा पठाउन समस्या भएपछि अभिभावकहरुले उच्च अदालतमा रिट दायर गरे । न्यायधिशद्वय टेकराज कुँवर र राजुराम सिलवालको संयुक्त इजलासबाट२०८२ भदौ १७ गते विद्यालय गाभ्ने -मर्ज) गरिएको निर्णय मापदण्ड विपरित रहेको भन्दै त्यसलाई बदर गरी बैरिया प्रा.वि.लाई पूर्वरत अवस्थामा संचालन गर्न नदिन विपक्षीहरुको नाम परमादेश जारी गरेका थिए ।

आदेशमा भनिएको छ —’शिक्षा नियमावली अनुसार १०० जनाभन्दा कम विद्यार्थी रहेको विद्यालय मात्र अर्को विद्यालयमा गाभ्न सक्ने प्रक्रिया रहेकोमा ३०७ जना विद्यार्थी हुँदाहुँदै कार्यपालिका बोर्डको बिना कुनै निर्णय बैरिया प्रा.वि. लाई लक्ष्मी मा.वि.मा मापदण्ड विपरित गाभिएको र इमिस लक गरी विद्यार्थीहरुलाई खाजा, पोशाक भत्ता सहित पाठ्यपुस्तकबाट वञ्चित गराउनु भनेको तिनीहरुको भविष्यसँग खेलवाड हो ।’ अदालतको आदेश गाउँपालिकाको कार्यालय र अध्यक्षसहितका विपक्षीहरुले कार्यान्वयन नगरेको भनी रिट दायर निवेदनकर्ताहरुले आदेश अव्हेलनाको मुद्दा शुक्रवार दर्ता गराएका छन् ।

प्र.अ. यादव मात्र होइन उनीसँगै कार्यरत दुईजना स्थायी शिक्षक र चारजना बालविकास तथा राहत कोटामा कार्यरत शिक्षकहरुलाई समेत लक्ष्मीपुर माविमा सरुवा गरेका थिए । शिक्षक सरुवाको सम्बन्धमा सम्बन्धित व्यक्ति आफैले रिट दायर गर्न आदेशमा भनिएको छ । अदालतको आदेश अव्हेलना गरिएको आरोप बारे अध्यक्ष यादवले आफू अदालतको आदेश अव्हेलना नगरेको दाबी गर्दै प्रधानाध्यापक नै मनपरी गर्न खोजेको आरोप लगाएका छन् ।

उनले भने शिक्षक सरुवा गर्ने अधिकार स्थानीय तहमा निहित भएकाले गाउँपालिकाले उनलाई सरुवा गरेपछि प्रधानध्यापक यादवले ती विद्यालयमा कब्जा गर्ने उद्देश्यले जान मानेको आरोप लगाए । विद्यालय गाभ्ने निर्णय बारे अध्यक्ष यादवले भने त्यहाँ पूर्वाधार संरचनाको आभाव भएकाले नयाँ निर्माण गर्न अर्को विद्यालयमा तत्कालका लागि गाभिएको हो, संरचना निर्माण भएपछि पूर्वरत अवस्थामा संचालन गरिने योजना रहेको तर प्र.अ.यादवले त्यहाँ राजनिती गर्न खोजेको आरोप लगाएका छन् ।

Comment


Related News