बाराको जीतपुरसिमरा उपमहानगरमा हावाहुरीका कारण ४५ घरमा क्षति पु¥याएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, उपमेयर भोला अधिकारीसहित उपमहानगरको नगर प्रहरीको टोलीले आइतबार स्थलगत अवलोकन गरी ४५ घरमा पूर्ण तथा अन्य केही घरमा आंशिक क्षति पुगेको जानकारी दिएको छ । अमलेखगञ्ज–चकरी खण्डमा शनिबार राती आएको हावाहुरीले रुख ढलेपछि आवागमनसमेत बन्द भएको थियो ।
आइतबार उपमहानगरको नगर प्रहरीले रुख पन्छाएर बाटो खोलेको जीतपुर सिमरा उपमहानगरले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिका जोड्ने चकरी– डम्बरपुर खण्डमा रुख ढलेकाले सडक र विद्युत् पूर्ण रूपमा बन्द भएको थियो । केही रुखहरू जरैदेखि ढलेकाले बारामा केही वर्ष अघि आएको टोर्नाडोकै झल्को दिने हावाहुरी देखिएको मेयर पौडेलको भनाइ छ । मेयर पौडेलले भने, ‘कतिपय रुख जरैदेखि ढलेको छ, हावाहुरी अत्यन्तै शक्तिशाली टोर्नाडो जस्तो देखियो ।’ हावाहुरीका कारण भएको क्षतिको विषयमा उपमहानगरपालिकाले विवरण संकलन गर्ने कार्य अघि बढाएको छ ।

