वीरगञ्जको मेनरोडलाई शहरी मार्ग कायम गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरिएको छ ।
मेनरोडबाट त्रिभुवन राजपथ स्थानान्तरण गर्ने मन्त्रिपरिषद्को निर्णय पूर्ण रूपमा कार्यान्वयन भइसकेको भन्दै वीरगञ्ज संघर्ष समितिले शहरी मार्ग कायम गर्न माग गरेको हो । संघर्ष समितिले आइतबार वीरगञ्जमा थाल बजाएर विरोध प्रदर्शन तथा सरकारको ध्यानाकर्षण कार्यक्रम गरेको हो ।
प्रदर्शनकारीहरूले मेनरोड परिक्रमा गर्दै वीरगञ्जको घण्टाघरसम्म पुगेर थाल बजाउँदै शहरी मार्ग कायम गर्न सरकारसँग आग्रह गरेका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार त्रिभुवन राजपथलाई मेनरोडबाट हटाइसकिएको छ । साथै नेपाल सरकारको आधिकारिक वेबसाइट तथा सरकारले प्रकाशन गर्ने …रोड डायरीÚ मा समेत आवश्यक संशोधन गरिसकिएको दाबी संघर्ष समितिले गरेको छ । यस्तो अवस्थामा अब मेनरोडलाई औपचारिक रूपमा शहरी मार्ग घोषणा गर्नुपर्ने उनीहरूको माग रहेको छ ।
प्रदर्शनमा स्थानीय व्यापारी, सर्वसाधारण, महिला तथा बालबालिकाको समेत उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले मेनरोडलाई शहरी मार्ग कायम गरिए वीरगञ्जको यातायात व्यवस्थापन, व्यापारिक गतिविधि तथा शहरी सौन्दर्यीकरणमा सकारात्मक प्रभाव पर्ने बताएका थिए ।
प्रदर्शनकारीहरूले सरकारसमक्ष आफ्ना मागप्रति शीघ्र ध्यान दिन आग्रह गर्दै माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने वीरगञ्ज युवा तथा व्यापारी सडक पीडित संर्घस समितिका अध्यक्ष कुन्दन रौनियारले चेतावनी समेत दिएका छन् ।

