२०८३ जेष्ठ १३, बुधबार ०७:४७

निमित सचिवको भरमा लामो समयदेखि सञ्चालन हुँदै आएका मधेश प्रदेश सरकारका विभिन्न मन्त्रालयमा पूर्ण प्रदेश सचिवहरूको पदस्थापन गरिएको छ ।

संघीय सरकारले गरेको सरुवापछि मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न पाँच मन्त्रालयमा प्रदेश सचिव पदस्थापन गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक नेतृत्व अभाव झेलिरहेका मन्त्रालयमा प्रदेश सचिव पठाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशका प्रदेश उपसचिव तथा सूचना अधिकारी रोहित कुमार कोइरालाले जानकारी दिएका छन् ।

प्रदेश सरकारअन्तर्गतका गृह, सञ्चार तथा कानुन मन्त्रालय, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालयसहित केही महत्त्वपूर्ण मन्त्रालय लामो समयदेखि निमित्त प्रदेश सचिवको भरमा सञ्चालन हुँदै आएका थिए । प्रदेश सचिव अभावका कारण फाइल निर्णय, योजना कार्यान्वयन, कर्मचारी व्यवस्थापन तथा नीतिगत काममा समेत असर परिरहेको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयमा प्रदेश सचिवका रूपमा पार्वती शर्मालाई पदस्थापन गरिएको छ । यसअघि उक्त जिम्मेवारीमा रहेका यमेन्द्र उपाध्याय लोकसेवा आयोगमा सरुवा भएपछि उनको स्थानमा शर्मालाई ल्याइएको हो । त्यसैगरी महेश बराललाई पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयमा प्रदेश सचिवको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री कार्यालयमा प्रशासनिक तथा समन्वयकारी भूमिकालाई थप प्रभावकारी बनाउन दुई सचिवको व्यवस्था गरिएको छ । लामो समयदेखि निमित्त सचिवको भरमा चलिरहेको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सेवन्तक पोखरेललाई प्रदेश सचिवका रूपमा पठाइएको छ । ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयमा निमित सचिव रामकुमार खँगको ठाउँमा होमनाथ पौडेल (प्राविधिक) लाई प्रदेश सचिवको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयमा ओमराज ढुंगानालाई सचिवको रूपमा पठाइएको छ । यसअघि थप जिम्मेवारी सम्हाल्दै आएका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव रामकुमार महतोलाई अर्थ मन्त्रालयमै पदस्थापन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेका युवराज अधिकारीलाई खेलकुद तथा समाज कल्याण मन्त्रालयमा पठाइएको छ । उक्त मन्त्रालयमा निमित्त सचिवको जिम्मेवारी सम्हालिरहेका सुशील साहलाई उद्योग विभाग वीरगञ्जमा सरुवा गरिएको छ ।

मधेश प्रदेश सरकारमा लामो समयदेखि सचिव अभाव तथा निमित्तको भरमा मन्त्रालय सञ्चालन हुँदा प्रशासनिक स्थायित्व कमजोर भएको भन्दै आलोचना हुँदै आएको थियो । कर्मचारी समायोजन, संघीय सरुवा र प्रशासनिक व्यवस्थापनको जटिलताले प्रदेश सरकारका मन्त्रालयहरुमा स्थायी सचिव टिक्न सकेको थिए ।

Comment


Related News