२०८३ जेष्ठ १३, बुधबार ०७:५३

महिला सशक्तिकरण तथा छात्रामैत्री शैक्षिक वातावरण निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगरपालिका वडा नं. ११ स्थित सकल भवन कन्या माध्यमिक विद्यालयलाई पूर्ण रूपमा महिला विद्यालयका रूपमा सञ्चालन गर्ने तयारी अघि बढाएको छ ।

जनकपुरधाम उपमहानगरका मेयर मनोज कुमार साहको यो निर्णयले कन्या माबिको पुरानो इतिहास फिर्ता भएको बताइएको छ । उपमहानगरपालिकाको शिक्षा समितिबाट पारित निर्णयअनुसार विद्यालयमा महिला शिक्षक तथा महिला कर्मचारीको व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।

यसअघि विद्यालयमा छात्रीहरूको मात्र भर्ना हुने व्यवस्था भएपनि शिक्षक तथा कर्मचारीतर्फ पुरुषको संख्या उल्लेख्य रहेकाले विद्यालयलाई पूर्ण रूपमा छात्रीमैत्री वातावरणमा सञ्चालन गर्न चुनौती देखिएको थियो । उपमहानगरपालिकाले हालै सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्याका आधारमा दरबन्दी मिलान प्रक्रिया अघि बढाएको थियो ।

सोही क्रममा अन्य विद्यालयमा कार्यरत महिला शिक्षकहरूलाई सकल भवन कन्या माध्यमिक विद्यालयमा पदस्थापन गरिएको छ भने यहाँ कार्यरत पुरुष शिक्षक तथा कर्मचारीलाई अन्य विद्यालयमा सरुवा गरिएको स्रोतले जनाएको छ । उपमहानगरपालिकाका अनुसार विद्यालयलाई नाममात्रको कन्या विद्यालय नभई व्यवहारिक रूपमा पनि पूर्ण महिला विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले प्रक्रिया अघि बढाइएको हो ।

छात्राहरूलाई सुरक्षित, सहज तथा आत्मविश्वासपूर्ण शैक्षिक वातावरण उपलब्ध गराउन महिला नेतृत्व आवश्यक रहेको निष्कर्षसहित यस्तो निर्णय गरिएको बताइएको छ । विद्यालयका वर्तमान प्रधानाध्यापक यसै भदौ महिनामा अवकाश हुने भएकाले तत्काल सरुवा नगरिएको जनाइएको छ ।

अवकाशपछि विद्यालयमा महिला प्रधानाध्यापक नियुक्त गर्ने तयार ीसमेत उपमहानगरपालिकाले गरेको छ । महिला शिक्षक तथा महिला नेतृत्वको उपस्थितिले छात्रीहरूलाई थप आत्मीय वातावरण मिल्ने, सिकाइमा आत्मविश्वास बढ्ने तथा विद्यालयप्रतिको सहभागिता सुदृढ हुने विश्वास गरिएको छ ।

Comment


Related News