पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकलाई अघि बढाउने योजना प्रधानमन्त्रीबाट सुन्न जनता आतुर रहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति यादवले राष्ट्रको आगामी दिशा, गणतन्त्र, लोकतन्त्र, संघीयता, समावेशी र संघर्षको उपलव्धी लगाएतका बिषयमा प्रधानमन्त्रीको धारणा सुन्न जनता आतुर रहेको बताउनुभएको हो । अहिलेसम्म संसदबाट पनि सम्बोधन नभएको अवस्थामा गणतन्त्र दिवसको मञ्च टुँडिखेलबाट प्रधानमन्त्रीले जनतालाई सम्बोधन गर्नुपर्ने उहाले बताउनुभयो । उहाले संसदीय प्रणालीमा संसदबाट निर्वाचित प्रधानमन्त्रीले संसदमा समेत आएर सम्बोधन गर्नुपर्ने उल्लेख गर्नुभयो । पूर्वराष्ट्रपति यादवले संविधान, संघीयता सहित समावेशी, समानुपातिक सहित धर्मनिरपेक्षताको बारेमा धेरै टिकाटिप्पणी भइरहेको अवस्थामा लोकतन्त्र र गणतन्त्रलाई सवलीकरण गर्ने गरि अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाले संविधान निर्माण गर्ने क्रममा महत्वपूर्ण भूमिका खेलेका दलहरुले बीचको अवधिमा जनताको नाडी छाम्न नसकेका कारण रास्वपालाई जनताले मत दिएको धारणा राख्नुभयो ।
अव जनताले विश्वास गरेको दलले जनताको विश्वास जित्दै मुलुकको परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने उहाले बताउनुभयो ।

