विकास निर्माणको योजनामा अनियमितता भएको सम्बन्धमा प्रदेश सभामा आवाज उठाएक मधेश प्रदेश सांसद हसिना खातुनमाथि आक्रमण भएको आरोप लगाइएको छ ।
जनमत पार्टीका प्रदेश सांसद रहेकी खातूनमाथि आक्रमण प्रयास भएको भन्दै घटनाको सामाजिक सञ्जालसहित चौतर्फी आलोचना र विरोध भइरहेको छ । सांसद खातूनले प्रदेश सभाको बैठकमा योजना कार्यान्वयन नगरी भुक्तानी गरिएको विषय सार्वजनिक रूपमा उठाउंदा ठेक्कासँग सम्बन्धित व्यक्तिहरुले सर्लाहीस्थित आफ्नो घर घेराउ गर्दै आफूमाथि आक्रमण गरिएको आरोप लगाएकी छिन् । लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधिले उठाएको विषयलाई लिएर धम्की र दबाब दिन खोज्नु गम्भीर विषय भएको भन्दै दोषीमाथि तत्काल कारबाही गर्न माग गरिएको छ ।
जनमत पार्टीका नेताहरूले पनि घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् । योजनाको काम नगरी रकम भुक्तानी गरिएको आरोपबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्नुपर्ने मागसमेत उठाइएको छ । घटनाबारे स्थानीय प्रशासन र प्रहरीलाई समेत जानकारी गराइएको जनाइएको छ । प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

