एशियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनोटमा नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मलेशियाको क्वालालम्पुरमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले इन्डोनेशियालाई ४ विकेटले हरायो ।
इन्डोनेशियाले दिएको ११४ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो । नेपालका कप्तान इन्दु बर्माले नटआउट ४२, सोनी पाख्रिनले २९, सीता राना मगरले ६ बलमा नटआउट १३ रन बनाए । इन्डाेनेशियाकी नी मेड पुत्री सुवान्डेवी, नी अरियानीले २/२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको इन्डोनेशियाले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनायो । इन्डाेनेशियाकी कप्तान नी पुतु आयु नन्द सकरिनीले ५६ रन बनाइन् । नेपालका मनिषा उपाध्यायले २, रिया शर्माले १ विकेट लिए ।
नेपालले समूह चरणकाे पहिलाे खेलमा चीनलाई १९ रनले हराएकाे थियाे ।
समूह ‘बी बाट चीन उपविजेता बन्दै सेमिफाइनलमा पुग्दा इन्डोनेशिया बाहिरिएको छ । यस्तै समूह ‘ए’ बाट थाइल्यान्ड समूह विजेता र मलेशिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । यो समूहबाट हङकङ बाहिरिएको छ ।
अब नेपालले सेमिफाइनलमा मलेशियासँग खेल्नेछ । यो खेल जितेमा नेपाल एशियाली खेलकुदमा छनोट हुनेछ । यो खेलमा पराजित भएमा तेस्रो स्थानका लागि खेल्ने मौका पाउनेछ । यस्तै अर्काे सेमिफाइनलमा थाइल्यान्ड र चीन खेल्नेछन् ।
प्रतियोगिताका शीर्ष तीन टोली जापानको नागोयामा हुने एशियाली खेलकुदका लागि छनोट हुनेछन् ।

