२०८३ जेष्ठ १५, शुक्रबार ०७:२१

आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम मधेश प्रदेश सरकारले आज सार्वजनिक गर्दैछ  भने संघीय सरकारले बजेट सार्वजनिक गर्ने भएको छ ।

आज साँझ ४ बजेतर्फ बजेट प्रतिनिधिसभामा अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गर्नेछन् । यता शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आव २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम मार्फत सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यस पटकको बजेटका लागि नीति तथा कार्यक्रममै स—साना टुक्रे योजनाहरू निरुत्साहित गरिएको बताइएको छ । नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंहले स—साना टुक्रे योजनाहरू निरुत्साहित गरी एक करोडभन्दा माथिको बहुवर्षीय, गौरवको योजना र मझौला योजनाहरूमा जोड दिइएको बताएका छन् ।

उनले भने, ‘अन्य वर्षको तुलनामा यस वर्ष फरक किसिमको आवश्यकता र क्षमताको आधारमा तयार पारिएको हो । आउँदो नीति तथा कार्यक्रममा रोजगार सिर्जना, गरीबी न्यूनीकरण, जिडीपी वृद्धि, आर्थिक र सामाजिक विकासका योजनालाई प्राथमिकतामा राखिएको छ ।’ उनले दिएको जानकारी अनुसार अन्य आर्थिक वर्ष जस्तै यस वर्षपनि कृषि उत्पादन, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य र सामाजिक आवश्यकताका योजनाहरुमा बढी जोड दिइएको छ ।

कृषिका लागि सिचाईको योजनाहरु, शिक्षातर्फ प्रशिक्षण र तालिमभन्दा पनि विद्यालयमा पूर्वाधार निर्माण, स्वास्थ्य उपकरण तथा पूर्वाधार निर्माण, पर्यटनका लागि सिमित योजना, मझौला उद्योगहरु स्थापना लगायतका कुरा समेटिएको बताइएको छ । पछिल्ला वर्षहरु जस्तै यसवर्षको बजेट पनि नीति तथा कार्यक्रमभन्दा फरक आउने हो कि भन्ने प्रसँगमा उनले भने ‘आउँदो नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकबाट के कस्ता विषयमा समेट्ने छलफल गरी नै तयार पारिएको छ । तर पछिल्ला वर्षहरूमा यस्तो हुने गरेको थिएन । छलफल बिनाको नीति तथा कार्यक्रम ल्याउँदा बजेट फरक हुन सक्थ्यो । तर यस पटक त्यस्तो हुँदैन ।’

Comment


Related News

Latest News

Trending News