२०८३ जेष्ठ १५, शुक्रबार ०७:४३

मधेश प्रदेशका राजधानी समेत रहेका जनकपुरधाम उपमहानगरपालिकामा शहरी पूर्वाधार विकासमा ठूलो फड्को मारेको छ । शहरी क्षेत्र सुधार अन्तर्गत उपमहानगरपालिकाको प्रयासमा ठूलो विकास योजना अगाडि बढाइएको छ । मेयर मनोज कुमार साहको दुई वर्षको अथक प्रयासपछि ‘अर्बन रेजिलियन्स एण्ड लिभेबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट (यूआरएलआईपी परियोजना)’ अन्तर्गत परिक्रमा सडकसहित नगरका विभिन्न पक्की सडक, नाला, फुटपाथ तथा रोड फर्निचर, बिजुली बती र खानेपानी जडान लगायतका निर्माणका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरिएको हो ।

नेपाल सरकार र एशियन विकास बैंक -एडीबी० को आर्थिक ऋण सहयोगमा सञ्चालन हुन लागेको सो परियोजनाको कुल लागत २ अर्ब १३ करोड रुपैयाँ रहेको जनाइएको छ । पहिलो चरण अन्तर्गत करिब १ अर्ब ६५ करोड रुपैयाँ बराबरको टेन्डर आह्वान गरिएको छ भने थप करिब ५० करोड रुपैयाँसम्मको अर्को टेन्डरसमेत छिट्टै आह्वान गरिने तयारी गरिएको छ । मेयर साहले दिएको जानकारी अनुसार टेण्डर आह्वान गरिएको परियोजना अन्तर्गत परिक्रमा सडकको भ्रमरपुरा चौक देखिपिराडी चोकसम्म, आँखा अस्पतालदेखि मणि मण्डप जाने बाटो, रामानन्द चोकदेखि कुर्थासम्म, विसविट्टीदेखि कुर्थासम्म, मोनाष्टिक स्कूलदेखि पुल चोक जाने बाटो, सीता चोकदेखि पुल चोक जाने बाटो, विद्यापति चोकदेखि मटकोरवा पोखरी जाने बाटो, कुवादेखि रामपुर जाने बाटो, पुल चोकदेखि हुलाकी सडक जाने बाटो लगायतका सडक निर्माण हुने भएको छ ।

वर्षौंदेखि जलजमाव, अव्यवस्थित सडक, फुटपाथ अभाव तथा वर्षायाममा हिलाम्य अवस्थाबाट पीडित जनकपुरधामका नागरिकहरूले यो योजनाबाट शहरको स्वरूप परिवर्तन हुने अपेक्षा गरेका छन् । विगतमा जग्गा अधिग्रहणमा भएको समस्या यस पटक पनि हुने सक्ने बारे मेयर साहले भने ‘यस पटक त्यस्तो समस्या आउंदैन दुई वर्षदेखि हामी त्यसैको तयारी गरेका छौं । हरेक घर तथा जग्गाधनीहरुसँग स्वीकृति लिइसकेकाले समस्या आउँदैन ।’ परियोजना कार्यान्वयन इकाई (पीआईयू) जनकपुरधामद्वारा जारी सूचना अनुसार निर्माण कम्पनीहरूको न्यूनतम वार्षिक कारोबार करिब ९।४१७ मिलियन अमेरिकी डलर हुनुपर्नेछ ।

साथै वित्तीय क्षमता, विगत अनुभव तथा ठूला सडक परियोजना सम्पन्न गरेको अनुभवका आधारमा मात्रै कम्पनीहरू प्रतिस्पर्धामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ । परियोजनामा सहभागी हुन ०।१८८ मिलियन अमेरिकी डलर बराबरको बिड सेक्युरिटी राख्नुपर्ने प्रावधान समेत तोकिएको छ । बोलपत्र पेश गर्ने अन्तिम मिति ७ जुलाई २०२६ निर्धारण गरिएको छ । अन्तर्र ाष्ट्रिय स्तरको प्रतिस्पर्धाबाट अनुभवी निर्माण कम्पनी छनोट गरी गुणस्तरीय पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको जनाइएको छ । आगामी आर्थिक वर्षको भदौ महिनासम्म निर्माण कार्य सुरु भइसक्नुपर्ने मेयर साहले जानकारी दिएका छन् ।

स्थानीयवासीहरूले योजना पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन भए जनकपुरधामको मुहार नै फेरिन सक्ने बताएका छन् । धार्मिक तथा पर्यटकीय महत्व बोकेको शहर भएकाले व्यवस्थित सडक, सुरक्षित फुटपाथ र प्रभावकारी ढल निकास प्रणाली अत्यावश्यक रहेको उनीहरूको भनाइ छ । शहरी विकास विज्ञहरूका अनुसार दीर्घकालीन शहरी योजना, वैज्ञानिक ड्रेनेज प्रणाली, पैदल यात्रुको सुरक्षा, नियमित प्राविधिक अनुगमन तथा पारदर्शी कार्यान्वयन सुनिश्चित गर्न सके यो परियोजना जनकपुरधामको विकासका लागि कोशेढुंगा सावित हुनेछ ।

Comment


Related News

Latest News

Trending News