२०८३ जेष्ठ १५, शुक्रबार ०७:४८

रौतहटस्थित लालबकैया नदी यतिबेला अवैध दोहनको चपेटामा परेको छ । कानुनी रूपमा टेण्डर प्रक्रिया नै पूरा नगरी नदीका विभिन्न घाटबाट ढुंगा, गिटी र बालुवा उत्खन्न गरिदैं आएको छ । स्थानीयका अनुसार यो काम सामान्य चोरीझैँ लुकेर नभई प्रहरी, केही जनप्रतिनिधि र तस्करबीचको कथित ‘सेटिङ’मै खुलेआम अवैध रुपमा उत्खन्न भइरहेको छ ।

गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिका क्षेत्रका जंगलसहिया, सिमरी, राँगी र बोटावा घाटमा बिहानदेखि रातिसम्म नदीजन्य पदार्थ उत्खनन भइरहेको स्थानीय बताउँछन् । कानुनले टेण्डरबिनाको उत्खननलाई पूर्ण रूपमा निषेध गरेपनि व्यवहारमा भने नदी दोहन नियन्त्रणबाहिर गएको देखिन्छ । फतुवा विजयपुर नगरपालिकामा नदी ठेक्का सम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन मेयर गोपाल राय यादव दोषी ठहर भएपछि टेण्डर प्रक्रिया अलपत्र परेको छ । कार्यवाहक मेयर अम्बेया खातुनले हालसम्म नयाँ प्रक्रिया अघि बढाउन सकेकी छैनन् ।

उता गुजरामा पनि पछिल्ला दुई वर्षदेखि टेण्डर नखुल्दा नदी ‘खुला कमाइको स्रोत’बनेको स्थानीयको आरोप छ । स्थानीय स्रोतका अनुसार अवैध उत्खननमा संलग्न ट् र्याक्टर व्यवसायीले विभिन्न सुरक्षा निकायलाई मासिक रकम बुझाउने गरेका छन् । इलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बेस क्याम्प विजयपुर लक्ष्मिनियामा मासिक प्रति ट्र्याक्टर चार हजार रुपैयाँसम्म बुझाइने तथा अन्य प्रहरी चौकी हरिनगर छेदी चौक, सशस्त्र प्रहरी अस्थायी पोस्ट पोखरभिन्डामा मासिक २ हजार छुट्टै रकम दिने गरिएको आरोप छ ।

रकम बुझाएकै कारण प्रहरी कार्यालय अगाडिबाटै नदीजन्य पदार्थ बोकेका ट्र्याक्टर निर्वाध रूपमा ओहोरदोहोर गर्ने गरेको स्थानीय समाजसेवी मैनुदिन अन्सारीको दाबी छ । स्थानीयवासीका अनुसार केही जनप्रतिनिधि स्वयंले आफ्नै ट्र्याक्टर प्रयोग गरेर उत्खननमा संलग्न रहेको तथा केहीले व्यापार ीसँग आर्थिक लाभ लिएर मौन समर्थन गरिरहेको अवस्था छ । नदी संरक्षण र राजस्व व्यवस्थापन गर्ने निकाय नै विवादमा मुछिँदा अवैध कारोबारी थप हौसिएको स्थानीयको भनाइ छ । नदी अनुगमन तथा नियन्त्रणको जिम्मेवारी पाएको जिल्ला समन्वय समितिमाथि समेत निष्क्रिय बनेको आरोप लागेको छ । स्थानीयका अनुसार नियमनकारी निकायको बेवास्ता र सुरक्षा निकायको कथित संरक्षणकै कारण लालबकैया नदी क्षेत्रबाट दैनिक सयौं ट्र्याक्टर नदीजन्य पदार्थ ढुवानी भइरहेको छ ।

यसैबीच समनपुर घाट बागमती पुल पनि अत्यधिक भार बोकेका टिपर र अवैध उत्खननका कारण जोखिममा परेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । पुलको क्षमताभन्दा बढी भार बोकेका सवारी सञ्चालन हुँदा पुल कमजोर बन्दै गएको र सडकसमेत क्षतिग्रस्त हुन थालेको स्थानीयको भनाइ छ । स्थानीयले तत्काल प्राविधिक परीक्षण, नदी उत्खनन नियन्त्रण र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । उनीहरूका अनुसार नदीको अनियन्त्रित दोहनले वातावरणीय सन्तुलन मात्रै होइन, खेतीपाती, सडक संरचना र जनजीवनमै प्रत्यक्ष असर पार्न थालेको छ ।

यस विषयमा सिडियो दिनेश सागर भुषालले नदी अनुगमन तथा कारबाहीको अधिकार जिल्ला समन्वय समितिसँग रहेको बताएका छन् । पूर्वी क्षेत्रमा बागमती नदी र चाँदी नदी तथा पश्चिम क्षेत्रमा लालबकैया नदीमा अवैध उत्खननबारे गुनासो आएको स्वीकार गर्दै उनले केही दिनभित्र स्थलगत अनुगमन गरिने जानकारी दिएका छन् । यता मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी गोबिन्द थपलिया र सशस्त्र प्रहरीका डीआईजी कृष्ण ढकालले अवैध उत्खनन र ढुवानी नियन्त्रण गर्न जिल्लाका सुरक्षा प्रमुखलाई निर्देशन दिइएको तथा उत्खन्नमा प्रहरीको पनि संलग्नता भेटिए कारबाही गरिने बताएका छन् ।

Comment


Related News

Latest News

Trending News