आज देशभर गणतन्त्र दिवस मनाइँदैछ ।
गणतन्त्र दिवसको अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा बिहान विशेष समारोह भएको छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायक यादव, प्रधानमन्त्री वालेन्द्र शाहसहित उच्च पदस्थ व्यक्तिहरूको सहभागिता थियो । समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको बताउनुभयो ।
प्रधानमन्त्री शाहले समारोहमा सम्बोधन नगर्ने भएपछि सरकारले समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गरेको थियो । यसअघि गणतन्त्र दिवसको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो ।

