राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताउनुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले आचरण सुधारसहित राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्य–मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
नवयुवा आन्दोलन र उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधिसभा सदस्य चुनाव सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको उल्लेख गर्दै उहाँले जनचाहनाअनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढाउने निर्णय गरेको बताउनुभयो ।
टुँडिखेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री बालेन्द्र शाहलगायत विशिष्ट व्यक्तित्व सहभागी हुनुभयो ।
पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो । गणतन्त्र स्थापनाको १८ वर्ष पूरा भएको छ ।

