नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले न्यून आय भएका व्यक्तिहरुप्रति सरकारको ठूलो उदासीनता देखिएको बताउनुभएको छ ।
शनिबार पार्टी कार्यालय सानेपामा नेपाल थारू संघको प्रथम महाधिवेशनको उद्घाटन गर्दै सभापति थापाले सरकारले ल्याएको बजेटमा कतिपय राम्रा कुराहरु समावेश भएपनि न्यून आय भएका व्यक्तिहरुप्रति ठूलो उदासीनता देखिएको बताउनुभएको हो ।
वर्तमान सरकारले मुलुकबाट गरिबी हटाउने नाममा गरीबहरुमाथि नै बिभेद गर्न खाजेको भन्दै उहाले गरिबी र गरीब दुईटा फरक कुरा हो भन्ने मेसो सरकारले पाउन नसकेको धारणा राख्नुभयो । सभापति थापाले बजेटमा संरचनागत सुधारका लागि थुप्रै सकारात्मक कुराहरुलाई अघि सारेकाले त्यसलाई स्वागत गर्दै आवश्यक कानून निर्माणमा मद्दत गर्ने उल्लेख गर्नुभयो । उहाले प्रतिपक्षको जिम्मेवारी सानो जिम्मेवारी नभएको भन्दै सरकारलाई सजक गराउदै जनताको मुद्दा स्थापीत गर्न गम्भीर भएर भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । यसका लागि सवैभन्दा पहिला निर्वाचन हार्यौँ, सत्ता सञ्चालन गर्ने जिम्मेवारी प्राप्त गरेनौँ भन्ने मनोदशाबाट बाहिर निस्कनुपर्ने उहाको भनाइ छ । सभापति थापाले आगामी निर्वाचनमा कम्तीमा पनि १०० वटा पालिकामा कांग्रेस पार्टीको तर्फबाट मेयर वा अध्यक्षको उम्मेद्वार महिला बनाउने कोसिस भइरहेको बताउनुभयो । स्थानीय तहको निर्वाचनमा लड्न चाहने इच्छा भएकाहरुले पार्टीको लिडरसीप एकेडेमीमा भर्ना हुनुपर्ने र आफुलाई योग्य सावित गर्नुपर्ने उहाले बताउनुभयो ।
कार्यक्रममा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्ताप्राप्तीका लागि कांग्रेस आफ्नो पहिचान भुलेर अर्काको इशारामा हिड्न खोज्दा आफ्नो चाल बिर्सिएको धारणा राख्नुभयो । कांग्रेस एकताबद्ध भएर अघि बढ्ने संकल्प गर्नुपर्ने उहाले बताउनुभयो । उहाले पार्टी र संसद एउटै भन्ने बिर्सिएको कांग्रेसलाई अव पार्टी र संसद एउटै बाटोबाट हिडाउने प्रयास आफुहरुले गरिरहेको धारणा राख्नुभयो ।
उहाले पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई बलियो बनाउदै कांग्रेसलाई पहिलेकै अवस्थामा ल्याउने समेत बताउनुभयो ।

