२०८३ जेष्ठ १७, आईतवार ०७:१०

सम्पूर्ण रुपमा धराशायी भइसकेको जनकपुर चुरोट कारखाना परिसर- मधेश भवन)मा नै प्रदेश सरकारको सचिवालय रहने भएको छ । प्रदेश सरकार गठन भएदेखि नै मधेश भवनमा सचिवालय रहेको छ ।मधेश भवनको कुल क्षेत्रफल ३३ बिघा नौ कठ्ठा रहेको छ ।त्यस मध्ये चुरोट कारखाना सञ्चालनमा रहेको बखत निर्देशकहरुको आवास हाल मन्त्रीहरुको आवास बनेको छ ।

महाप्रबन्धकको आवास प्रदेश प्रमुखको आवास र अतिथि सदन मुख्यमन्त्रीको आवास रहेको छ । पुरानो क्षेत्रीय बिक्री कार्यालयमा भौतिक, उर्जा लगायतका मन्त्रालयहरु छन् ।अधिकृत आवासमा आधी दर्जन मन्त्रालय राखिएको छ ।केहि भूभाग पार्किंगका लागि र केहि भूभाग अन्य समान्य कार्यका लागि प्रयोगमा रहेको छ । संघीय सरकार मातहत रहेको चुरोट कारखानाको भवन र सुर्तीविकास कम्पनीको गोदामहरु जिर्ण भइसकेको छ ।पुराना संरचनाहरु कामै नलाग्ने भइसकेको र त्यहाँ रहेका समानहरु कुहिन थालेको छ ।

मधेश प्रदेश सरकारले चुरोट कारखानालाई नै प्रादेशिक सचिवालय बनाउने तयारीमा छ ।संघीय सरकारसित स्वामित्व हस्तांतरणको विषयमा संवाद भइरहेको बताइएको छ । मधेश भवन परिसरलाई नै व्यवस्थित र आधुनिक रुपमा विकसितगरि प्रदेश सरकारको सचिवालय, आवास लगायतका प्रशासनिक भवनहरु बनाइने मुख्यमन्त्री कृष्ण प्रसाद यादवले बताए । ‘चुरोट कारखाना सञ्चालन हुने अवस्था नरहेको र सरकारले सुर्तीजन्य उत्पादनमा लगानी नगर्ने भएकोले प्रदेश सरकारको मुख्यालय बनाउन बढी उपयुक्त देखिएको छ ’ उनले भने, बस्तीको बीचमा रहेकोले कुनैपनि उद्योग सञ्चालनका लागि उपयुक्त हुनेछैन् ।

उद्योग सञ्चालन हुँदा प्रदुषण बढने भएकोले जनस्वास्थ्यलाई दृष्टिगतगरि वातावरण मैत्री कार्य गर्न उपयुक्त हुने उनले बताए । प्रदेश सरकारले कारखानाको भूमीको स्वामित्व प्रदेश सरकारलाई हस्तांतरण गराउन संवाद चलिरहेको मुख्यमन्त्री यादवले बताए ।‘प्रदेश सरकारले अन्यत्र मुख्यालय बनाउँदा भौतिक संरचनामा भारी लगानी गर्नुपर्ने हुन्छ’ मुख्यमन्त्री यादवले भने, हामी कम खर्चमा नै जग्गा सुरक्षितगरि आवश्यकता अनुसारको पूर्वाधार निर्माण गर्ने छौ ।स्वामित्व हस्तांतरणका लागि प्रधानमन्त्री बालेन्द्र शाह-बालेन) सकारात्मक रहेको उनले बताए ।

प्रदेश संरचना निर्माण भएपछि पहिलो सरकारको लागि तत्कालिन संघीय सरकारले कारखाना हाताभित्रको आवासिय र प्रशासनिक भाग उपभोगका लागि दिएको थियो ।प्रदेश सरकारले त्यसमा स्थायी संरचना कमै निर्माण गरेको छ । कुनै बेला देशको सर्बाधिक राजस्व बुझाउने र साढे पाँच हजार बढीलाई प्रत्यक्ष रोजगारी दिएको जनकपुर चुरोट कारखाना लिमिटेड अब धराशायी भइसकेको छ । देशमा सरकार फेरिएसँगै चुरोट कारखाना सञ्चालनको बहस केहि समय चल्ने गरेको छ ।तर त्यो महिना, दुई महिनामा फेरी बन्द हुन्छ । तत्कालिन शोभियत संघले बनाएको चुरोट कारखाना नेपालको सर्वाधिक राजस्व तिर्ने गथ्र्याे ।तर २०४६ सालको राजनीतिक परिवर्तनसँगै चुरोट कारखाना धराशायी भयो । सरकारी स्वामित्वको जग्गा संरक्षणका लागिपनि प्रदेश सरकारलाई स्वामित्व हस्तांतरण गर्न आवश्यक छ ।

ठूलो खेल मैदान, कर्भडहल, प्रयाप्त रुख,बिरुवा, फुल, हलको रुपमा प्रयोग गर्न मिल्ने ठूला गोदामहरु लगायतका संरचनाहरु छन् ।त्यसको मर्मत संभारगरि प्रदेश सरकारले आयोजन ागर्ने ठूला कार्यक्रमहरु भित्रै सञ्चालन हुन सक्छ ।केहि गोदामहरुमा केहि हजार मानिस अटाउन सक्ने भएकाले त्यसलाइ उपयोगमा ल्याउन आवश्यक रहेको मधेश प्रदेश नीति आयोगका उपाध्यक्ष राज कुमार सिंहले बताए । ‘संरचनाहरु निकै पुरानो रहेको छ ’ उनले भने, समयमै मर्मत संभारगरि प्रयोगमा नल्याइए कुहिएर खेर जानेछ ।

सरकारले पहिलो वर्ष मन्त्रालय, दोस्रो वर्ष आवासीय र तेस्रो वर्षमा अन्य सौन्दर्यीकरण, सभाहल लगायतका कार्यहरु गर्न क्रमिक रुपमा बजेट छुट्टयाएर काम गर्न सक्ने सिंहले जनाए ।देशको सातवटै प्रदेश मध्ये मधेशको मुख्यालय रहेको मधेश भवन भन्दा भूमी र संरचना राम्रो छ ।मधेश प्रदेश सरकारले संघीय सरकारसित पहलगरि जग्गाको स्वामित्व ग्रहण गर्न सक्नु पर्छ । हुनत मधेश प्रदेश सरकारको मुख्यालय, आवास, प्रशासनीक भवन लगायत निर्माणका लागि गठन गरेको समितिले जनकपुरधामको वडा नम्बर १९ मा रहेको ५२ बिघालाई सिफारिस गरेको थियो ।

त्यो प्रस्तावलाई प्रदेशसभा बैठकलेपनि पास गरेको थियो ।तर साढे तीन वर्षमा त्यसको कुनै कार्य अगाडी बढन सकेको छैन् ।प्रदेश सरकारको मुख्यालय रहने सार्वजनिक भएपछि त्यहाँ जग्गाको मुल्य अत्यधिक बढेको छ । तर ५२ बिघा धार्मिक, सांस्कृतिक धरोहर रहेकोले त्यसको संरक्षण गर्नुपर्ने माग उठ्दै आएको छ ।स्थानीय बासिन्दाहरुले प्रदेश सरकारको निर्णयको बिरोधगर्दै संरक्षणको माग गरेको छ । प्रदेशसरकारले मधेश भवनमा नै आधुनिक संरचना निर्माणगरि संरक्षण गर्ने सोँचमा छ ।प्रदेश सरकारको स्वामित्वमा नरहेकोले हाल कारखानाको चारै तर्फको जग्गाको निरीक्षण र सुरक्षाको कार्य समेत हुन सकिरहेको छैन् ।

अत्यन्त पुरानो पर्खाल, केहि भागमा काडे तारको घेरापनि जिर्ण भइसकेको छ ।संरक्षणका लागि चौतर्फी नयाँ पर्खाल निर्माण नगरिए जग्गा अतिक्रमणमा पर्न सक्ने स्थानीय बासिन्दाहरु बताउँछन् । उनीहरुले परिसर भित्र रहेको रुख, बिरुवाहरुको संरक्षण गर्नुपर्नेमा जोडदिदै चारैतर्फ थप बृक्षहरु लगाउनुपर्ने माग गरेका छन् ।जनकपुरधामको उत्तरी भागलाई पूर्ण हरियाली बनाएर वातावरणलाई स्वच्छ बनाउन समेत मधेश भवन परिसर सहयोगी हुन सक्छ । मधेश भवनलाई सरकारी कार्यालय, मन्त्रालय,आवास, सभाहल, खेलमैदान सहित भित्र राम्रा पार्क, बगैँचा बनाएर आन्तरिक पर्यटक प्रबद्र्धनमा समेत योगदान गर्ने बनाउन सकिन्छ ।

Comment


Related News