२०८३ जेष्ठ १८, सोमबार ०८:०६

मलेमास(पुरुषोत्तम मास)मा महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा लाग्ने मेलाको कमजोर व्यवस्थापनले श्रद्धालुहरुलाई सास्ती भएको छ । मलेमासको एकमहिना अवधीको हरेक आइतवार र मंगलवार गेरुका नदीमा पवित्र स्नान गर्नेहरु भारी भीड लाग्ने गरेको छ ।मलेमासमा गेरुका नदीमा स्नानगर्दा मोक्ष प्राप्ति हुने मान्यता छ ।

मलेमास महिनामा कतिपय शुभ कार्यहरु गर्न मिल्दैन् ।तर भगवानको भजन, किर्तन, तिर्थस्थलहरुको दर्शन, पवित्र सरोवरहरुमा स्नानगर्दा अत्यधिक पुण्य प्राप्ति हुने मान्यता छ । ३६ महिनामा तिथिको हेरफेरको कारण तिथि अनुसार एक महिना बढेर ३७ महिना हुने भएकाले त्यसको समायोजनका लागि पुरुषोत्तम मास मानिन्छ ।

भारतको प्रसिद्ध तिर्थस्थल राजगीरमा मलेमासमा स्नान गरे प्राप्ति हुने फल सरह नै गेरुका नदीमा स्नान गरेको फल प्राप्ति हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताएका छन् । ‘मलेमासमा गेरुका नदीमा स्नानगर्न साधुसन्तहरु अनिवार्य रुपमा जाने गर्छन्’ उनले भने, मिथिला महात्म र विष्णुपुराणमा समेत गेरुका नदीको महत्वको विषयमा उल्लेख रहेको छ ।

सनातन धर्मको पचांगलाई सही मार्गमा राख्न पुरुषोत्तम मासको व्यवस्था गरिएको उनले बताए ।मलेमास, पुरुषोत्तम मास र अधिक मासपनि भनिने गरिन्छ । सनातन धर्म अनुसार हरेक तीन वर्षमा मलेमास(अधिक मास) हुने गर्छ ।मलेमासमा मात्र लाग्ने गेरुका मेलामा पछिल्लो आयोजनको तुलनामा यस पटक व्यवस्थापन अत्यन्त कमजोर देखिएको छ ।

सवारी साधन तीन किलोमिटर पर नै पार्किंग गरेर श्रद्धालुहरु स्नानका लागि पैदल जानुपर्ने बाध्यता छ ।नदीमा स्नानगरि बाहिरिने व्यवस्था झन खराब छ ।चिप्लो माटो र साँगुरो बाटोको कारण श्रद्धालुहरु चिप्लिएर घाइते हुने गर्छन् । मेलाको प्रारम्भमा पहिलो आइतवार साधुसन्त लगायतका विशिष्ट व्यक्तिहरुको सहभागितामा शाही स्नान गरिएको थियो ।

त्यसपछि बढी प्रचार पाएको मेलामा अनपेक्षित रुपमा श्रद्धालुहरुको भीड बढेको छ ।बढदो भीडलाई समुचित व्यवस्थापन गर्न नसक्दा अगामी दिनमा श्रद्धालुहरुको संख्यामा कमि आउन सक्ने अनुमान गर्न थालिएको छ ।नदीमा स्नान र मन्दिरमा पुजा गर्ने सम्मको व्यवस्थापन निकै कमजोर छ । बिहानै गएका श्रद्धालुहरुलाई स्नानपुजागरि मेलाबाट बाहिरिन कयौं घण्टा लाग्ने गरेको यात्रुहरुले बताएका छन् ।

अस्तव्यस्त ट्राफिक र अव्यवस्थित श्रद्धालुहरुको भीडको कारण सास्ती भएको अधिवक्ता पंकज कर्णले बताएका छन् ।गेरुका स्नानपछि उनले आफ् नो फेसबुकमा भीड र ट्राफिक अव्यवस्थाको कारण श्रद्धालुहरुलाई सास्ती भएको उल्लेख गरेका छन् । बच्चा, बृद्धहरुलाई मेलामा बढी कष्ट भोग्नु परेको महोत्तरी भ्रमरपुराकी सञ्जना ओझाले बताइन् ।‘नदी र मन्दिर क्षेत्रको अव्यवस्थाले श्रद्धालुहरुलाई कठिनाईको सामना गर्नु परिरहेको छ ’ उनले भनिन्,अस्तव्यस्त सडक र पार्किंगको समुचित व्यवस्था नहुँदा थप समस्या भएको छ ।

यस वर्ष भारतको बिहार राज्यबाट समेत भारी संख्यामा श्रद्धालुहरु गेरुकामा पवित्र स्नानका लागि आएको लोहारपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादवले बताए ।‘अपेक्षा गरिएको भन्दा भीड अत्यधिक बढेकोले व्यवस्थापनमा केहि कठिनाई देखिएको छ ’ उनले भने, अगामी वर्षदेखि अझ सुदृढ व्यवस्थापनगरि मेलालाई व्यवस्थित गरिनेछ ।

महोत्तरी जिल्लाकै सम्सी गाउँपालिकाको खैरबन्नी नजिक गेरुकी नदीमा पनि मलेमास स्नान गरिन्छ ।भारी संख्यामा श्रद्धालुहरुको भीड लाग्ने गेरुकी मेलामा बिहुलासत्ती मन्दिरमा भगवतीको पुजा गरिन्छ ।गाउँ भन्दा बाहिर खेतैखेत भएको भूभागमा लाग्ने गेरुकी मेला भर्न जाने श्रद्धालुहरुलेपनि सास्ती भोग्नु परिरहेको छ ।

सवारी साधनको पार्किंगको समुचित व्यवस्था नहुँदा श्रद्धालुहरुले तीन किलोमिटर बढी दुरी पैदल हिड्नु परेको बताइन्छ । मेला आयोजक समितिले श्रद्धालुहरुको सेवा, सुबिधा भन्दा बजारमा असुली गर्न केन्द्रित रहेको आरोप मेला भर्न गएकाहरुले लगाएका छन् ।साँगुरो नदी-गेरुकी)मा स्नानगरि मठमन्दिरहरुमा पुजा गर्न घण्टौ समय लाग्ने गरेको श्रद्धालुहरुले दुखेसो पोखेका छन् ।

गेरुकी नदीमा पनि आइतवार र मंगलवार नै स्नान गर्ने मान्यता छ । हरेक मलेमासमा एक महिना सम्म मेलाको आयोजना गरिन्छ ।गेरुका र गेरुकी उस्तै नाम भएपनि दुबै स्थलबीच झण्डै १० किलोमिटरको दुरी छ । मेला भरेर फर्किने यात्रुहरु घण्टौ जाममा परेर सास्ती भोग्नु परेको थियो ।सवारी साधनको व्यवस्थापनका लागि ट्राफिक प्रहरी र स्थानीय स्वयंसेवकहरुको अभाव थियो ।

दुबै नदीमा नेपाली श्रद्धालुहरुको भन्दा भारतीय श्रद्धालुहरुको अत्यधिक भीड थियो ।भारतीय सीमासित नजिकै रहेको र शाही स्नानले व्यापक प्रचार पाएको कारण श्रद्धालुहरुको भीड उम्रेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए । मलेमासको महिनामा हाल मात्र लाग्दै आएको गेरुका र गेरुकी नदीलाई पर्यटकीय स्थल बनाउन स्थानी र प्रदेश सरकारले ध्यान दिन आवश्यक छ ।भारतको राजगीर जस्तो हरेक महिना गेरुका र गेरुकी नदीमा पवित्र स्नान गरे पुण्य प्राप्ति हुने सन्देश छिमेकी बिहार र नेपालको बिभिन्न भागहरुमा पु¥याउन आवश्यक छ ।

Comment


Related News