२०८३ जेष्ठ १८, सोमबार १३:५९

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने बिपक्षी दलले नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गरेको छ ।

सोमबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बिपक्षी दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिले स्वाभिमान कमजोर भएको भन्दै क्षमायाचनसहित फिर्ता माग गर्ने निर्णय गरेको हो । बैठकपछि नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाल राष्ट्रको शिर झुकेको र नेपालीहरूको स्वाभिमान कमजोर भएको भन्दै अभिव्यक्ति क्षमायाचनसहित फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको जानकारी दिनुभयो ।

नेपाल राष्ट्रको नीतिविपरीत आएको प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म सदनमा आफुहरुको विरोध जारी रहने उहाले बताउनुभयो । त्यस्तै बैठकले संसदलाई पेलेर अगाडि बढाउने परिस्थिति उत्पन्न भएको प्रति समेत आपत्ति जनाएको छ । अर्यालले संसदमा भएका सदस्य सबैको अपनत्व हुनेगरि नियमावली पारित गर्नुपर्नेमा एकपक्षीय ढंगले पारित गरेको प्रतिपनि विरोध जनाउने निर्णय गरेको बताउनुभयो । नियमावलीमा प्रतिपक्षीहरुले राखेका कुनै पनि बिषय सम्बोधन हुन नसकेको उहाले उल्लेख गर्नुभयो ।

त्यस्तै कांग्रेसका सचेतक निश्कल राईले सदनमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैर जिम्मेवारीपूर्ण भएकाले प्रधानमन्त्रीले सदनमा स्पष्ट पार्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीको अभिव्यक्ति सहि भए नागरिकलाई स्पष्ट जानकारी गराउनुपर्ने र सहि नभए सदनमा आएर प्रधानमन्त्रीले माफि माग्नुपर्ने उहाले बताउनुभयो ।

त्यस्तै राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले सीमाका बिषयमा प्रधानमन्त्रीले फेरी संसदमा आएर नेपाली जनताबीच यस विषयमा आफ्नो स्पष्ट धारणा राख्नुपर्ने बताउनुभयो । बैठकमा कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपाका सांसदहरु सहभागी भएका थिए ।

Comment


Related News

Latest News

Trending News