प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको छ ।
आइतबारको बैठकमा केहि सांसदहरुले अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानि नोक्सानी एवं क्षति पु¥याउने कार्य गरेको भन्दै घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको सभामुख डोल प्रसाद अर्यालले जानकारी दिनुभयो । संसद बैठकमा भएको भौतिक हानि नोक्सानी एवं क्षतिको मुचुल्का तयार भएकाले यस विषयमा आवश्यक जाँचबुझ गरी ७ दिनभित्र सभामुखसमक्ष प्रतिवेदन तयार पार्नका लागि प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको उहाले जानकारी दिनुभयो । समितिको सदस्यमा संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन् । सभामुख अर्यालले
समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम घटनामा संलग्नलाई आवश्यक कारबाही अगाडि बढाउन सकिने बताउनुभयो ।
यसअघि आइतबारको बैठकमा प्रतिनिधिसभा नियमावली पारितको प्रक्रियाप्रति असहमति जनाउदै बिपक्षी दलका सांसदहरुले वेल घेराउसहित विरोध गरेका थिए । सो क्रममा केहि कुर्सी र माइकमा समेत क्षति पुगेपछि जाँचबुझका लागि समिति गठन गरिएको हो ।

