भारतको पाँचदिने भ्रमणमा रहेका रास्वपाका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतीय गृहमन्त्री अमित शाहसंग शिष्टाचार भेटवार्ता गरेको छ ।
उनीहरूबीच नयाँ दिल्लीमा मंगलबार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल–भारतबीचको आपसी हित, दुई देशबीचको सुरक्षा चासो तथा सीमा क्षेत्रमा सर्वसाधारणले भोग्दै आएका समस्या र त्यसको समाधानका उपायबारे छलफल भएको बताइएको छ । यसअघि सभापति लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकर र सत्तारुढ दल भारतीय जनता पार्टी -भाजपा) का शीर्षनेतृत्वहरुसंग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
रास्वपा–भाजपाका शीर्षनेताबीच जेन–जी पुस्ताको भूमिकाप्रति चासो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा रहेका बेला भारतीय सरकारले प्रधानमन्त्री बालेन्द्र साहको नेपाल–भारत सीमाबारे दिएको अभिव्यक्तिप्रति आधिकारिक धारणा सार्वजनिक गरेको छ । भारतसंगको सीमा विवादबारे आइतबार प्रतिनिधिसभा बैठकमा दिएका दुवै अभिव्यक्तिमाथि भारतको विदेश मन्त्रालयले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेनका अभिव्यक्तिबारे सोधिएका प्रश्नको जबाफ दिँदै आफ्नो धारणा सार्वजनिक गरेका छन् । प्रधानमन्त्री बालेनले लिपुलेक, लिम्पियाधुरा सीमा विवादबारे सांसदहरूको प्रश्नको जबाफ दिने क्रममा ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भनेका थिए ।
संगसंगै, उनले यो पनि भनेका थिए, ‘बेलायतले ब्रिटिस इन्डिया छाड्दै गर्दाको (सीमा) समस्या अहिलेसम्म हाम्रोमा रहेकाले यसबारे बेलायत सरकारले पनि सरोकार राख्नुपर्छ भन्ने नेपालको मान्यता छ ।’ भारतीय विदेश मन्त्रालयका प्रवक्ताले प्रधानमन्त्रीका यी दुवै अभिव्यक्तिको जबाफ दिएका छन् ।
नेपालले पनि भारतको जग्गा मिचेको सम्बन्धमा प्रवक्ताले भने, ‘भारत–नेपाल सीमाबारे नेपालका प्रधानमन्त्रीको टिप्पणी, उनको बयान र सँगसँगै नेपालको विदेश (परराष्ट्र) मन्त्रालयको तर्फबाट जारी गरिएको वक्तव्य हामीले देख्यौं। भारत–नेपाल सीमाको लगभग ९८ प्रतिशत हिस्सा निर्धारित भइसकेको छ । तैपनि केही हिस्सामा केही समस्या छन्, जसलाई सुल्झाउन बाँकी छ ।’ समस्या सुल्झाउन बाँकी सीमा समस्याबारे जानकारी दिँदै प्रवक्ता जयसवालले अगाडि भने, ‘ गण्डक नदीको बहावमा परिवर्तन हुनुका कारण यो स्थिति उत्पन्न भएको हो । यस अतिरिक्त सीमाको निर्धारित हिस्सामा सीमापार कब्जा र ‘नो म्यान्स ल्यान्ड’ (दसगजा क्षेत्र) मा अतिक्रमणका घटना पनि छन्, जसलाई संयुक्त रूपमा मानचित्रण भइरहेको छ ।’ गण्डक नदीको बहाव परिवर्तनबारे भारतीय विदेश मन्त्रालयको जबाफ नवलपरासीको सुस्तासंग सम्बन्धित छ । उनले सीमासम्बन्धी सबै मामिला सुल्झाउन द्विपक्षीय संयन्त्र स्थापना गरेको पनि आफ्नो बयानमा उल्लेख गरे । उनले त्यसपछि प्रधानमन्त्री बालेनको अर्को अभिव्यक्तिबारे जबाफ दिएका थिए । भारतसंगको सीमा विवादमा बेलायतको सरोकार रहनुपर्छ भन्ने नेपाल सरकारको मान्यता रहेको बालेनको भनाइ थियो। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले यसबारे जबाफ दिँदा सिधै बेलायतको नाम लिएनन् । तर उनको जबाफले त्यसैतर्फ संकेत गरेको थियो ।
यता रास्वपाका सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनबीच भएको राजनीति भेटवार्ताको क्रममा राजनीतिमा ‘जेन–जी’ पुस्ताको बढ्दो भूमिका र सम्भावनाबारे विस्तृत छलफल भएको बताइन्छ । भाजपा मुख्यालयमा मंगलबार सभापति लामिछाने र अध्यक्ष नवीनबीच भएको भेटवार्तामा लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामाथि विचार आदानप्रदान भएको छ ।
भारत भ्रमणमा रहेका सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा भाजपा राष्ट्रिय अध्यक्ष नवीनलगायत वरिष्ठ नेताहरूसंग भेटवार्ता गरेका छन् । प्रतिनिधिमण्डललाई स्वागत गर्दै अध्यक्ष नवीनले साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरका सुदृढ सम्बन्धमा आधारित भारत–नेपालबीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धबारे प्रकाश पारेका थिए ।
उनले यस्ता अन्तरक्रियाले लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउनुका साथै भाजपा र रास्वपाबीचको पार्टीगत सम्बन्धलाई अझ गहिरो बनाउन सहयोग पुग्ने बताउनुभएको भाजपाले जनाएको छ । अध्यक्ष नवीनले भाजपा पार्टीको यात्रा, विचारधारा, संगठनात्मक संरचना तथा जनमुखी राजनीतिक सहभागितासम्बन्धी दृष्टिकोणबारे जानकारी गराएका थिए ।
भेटवार्ताका क्रममा रास्वपा प्रतिनिधिमण्डलले भाजपा सदस्यता प्रक्रिया, उम्मेदवार छनोट प्रणाली तथा तल्लो तहका कार्यकर्ताको पहिचान र उनीहरूसंग सम्पर्क विस्तार गर्ने संयन्त्रबारे विशेष चासो व्यक्त गरेको थियो । यसका साथै अध्यक्ष नवीनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अवलम्बन गरिएको विकासमुखी सुशासन मोडेलबारे पनि चर्चा गर्दै विकास, सेवा, सुशासन तथा कल्याणकारी सेवा प्रवाह भाजपा सरकारको शासन प्रणाली र जनसम्पर्क रणनीतिको केन्द्रमा रहेको उल्लेख गरे ।
उक्त भेटवार्तामा अध्यक्ष नवीनसंगै भाजपा राष्ट्रिय महामन्त्री अरुण सिंह, सांसद सञ्जय जयसवाल, सांसद बाँसुरी स्वराज तथा भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले पनि सहभागी थिए । रास्वपा प्रतिनिधिमण्डलले भाजपा मुख्यालयस्थित मिडिया सेन्टर तथा केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेका थिए ।

