२०८३ जेष्ठ २०, बुधबार ०७:५८

जनकपुरधाम उपमहानगरपालिका ७ जिरो माइलस्थित थोक फलफूल व्यवसायीहरुले जग्गा खाली गर्न दुई महिना समय दिनुपर्ने माग गरेका छन् । लामो समयदेखि जग्गा धनीसँग विवाद हुँदै आएको सो जग्गा बारे पुनरावेदन अदालत जनकपुरको आदेशपछि खाली गराउने प्रक्रिया शुरु भएपछि फलफूल व्यवसायी तथा तरकारी संघले नयाँ जग्गा व्यवस्थापनमा केही समय लाग्न सक्ने भएकाले दुई महिना समयका लागि सरोकारवाला निकायले पहल गरिदिन आग्रह गरे । संघले मंगलवार एक पत्रकार सम्मेलन आयोजना गरी व्यवसायीहरुले अदालतको आदेशलाई सम्मान गर्दछु आफूरु स्वस्फूर्त रूपमा बजार छाड्ने तयारीमा जुटेतापनि अहिले आँप व्यवसायको सिजन रहेकाले व्यवस्थापनका लागि केही समय दिनुपर्ने भने ।

संघका महासचिव भूवनेश्वर पुर्वेले भने अदालतको आदेश आए लगतै प्रहरीको सहयोगमा डोजरले बजार बन्द गराउने बाटोमै खाल्डो खन्ने र बजारको शौचालय भत्काइएको गुनासो गरे । ‘हामी अदालतको आदेशलाई पूर्ण रूपमा सम्मान गर्छौं । तर, बजार खाली गरिसकेपछि व्यवसाय कहाँ सञ्चालन गर्ने भन्ने विषयमा कुनै स्पष्ट योजना छैन,’पूर्वेले भने, ‘पटकपटक प्रमुख जिल्ला अधिकारी, स्थानीय तह, जनप्रतिनिधि तथा अन्य सरोकारवाला निकायसँग सुरक्षित निकास र वैकल्पिक व्यवस्थाको माग गर्दा पनि सुनुवाइ भएन । उल्टै पर्याप्त समय र औपचारिक जानकारी नदिई डोजर लगाएर संरचना भत्काउने प्रयास गरियो । यसले व्यवसायीहरूलाई आन्दोलनमा जान बाध्य बनाएको हो ।’

उनले फलफूल तथा तरकारीको थोक व्यापार निजी व्यवसाय मात्र नभई कृषि उत्पादनको वितरण प्रणालीसँग प्रत्यक्ष जोडिएको र करीब दुई हजार व्यक्तिको रोजगार जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताए । पत्रकार सम्मेलनमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले पनि व्यवसायीहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै बजार व्यवस्थापनको दीर्घकालीन समाधान आवश्यक रहेको बताए । उनले अदालतको आदेश कार्यान्वयन हुनुपर्ने भए पनि त्यसको कार्यान्वयनका क्रममा मानवीय पक्षलाई बेवास्ता गर्न नहुने बताए ।

‘कानुनी शासनको सम्मान सबैले गर्नुपर्छ । अदालतको आदेश पालना हुनु आवश्यक छ । तर, त्यसको नाममा वर्षौंदेखि व्यवसाय गर्दै आएका व्यवसायीलाई वैकल्पिक व्यवस्था बिना सडकमा ल्याउनु उपयुक्त हुँदैन,’उनले भने । उनले व्यवसायी, मजदुर, ढुवानी व्यवसायी तथा कृषक सबैको हितलाई ध्यानमा राखेर समाधान खोज्न आग्रह गरे । ‘थोक बजार बन्द हुँदा त्यसको प्रभाव व्यवसायीमा मात्र पर्दैन । किसानदेखि उपभोक्तासम्म सम्पूर्ण आपूर्ति प्रणाली प्रभावित हुन्छ,’उनले भने ।

अदालतको आदेशपछि बजार खाली गर्ने प्रक्रिया अगाडि बढिरहेको अवस्थामा व्यवसायीहरूको व्यवस्थापन कसरी गरिन्छ भन्ने विषय अहिले जनकपुरधामको प्रमुख आर्थिक र सामाजिक चासोको विषय बनेको छ । व्यवसायीहरूले आफूहरू कानुनी निर्णयको सम्मानमा रहेको स्पष्ट पार्दै सम्मानजनक पुनस्र्थापनाको व्यवस्था हुनुपर्नेमा जोड दिएका छन्

Comment


Related News