२०८३ जेष्ठ २०, बुधबार ०९:०५

संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)ले ‘अल निनो’ अर्थात् मध्य तथा पूर्वी प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रममा हुने आवधिक वृद्धिका कारण जुनदेखि अगस्टसम्म ‘भयंकर’ गर्मी हुन सक्ने चेतावनी दिएको छ ।

अल निनो नोभेम्बरसम्म जारी रहने सम्भावना रहेको बताइएको छ, जुन सामान्यतया नौदेखि १२ महिनासम्म रहन्छ ।

मौसम विज्ञानसम्बन्धी मोडेलहरूले यसको तीव्रताबारे फरक–फरक अनुमान गरेकाले अल निनो कति शक्तिशाली हुनेछ भन्ने कुरा अझै अनिश्चित छ । तर, अधिकारीहरूले पूर्वतयारीको आवश्यकतामा जोड दिएका छन् ।

डब्लूएमओकी महासचिव सेलेस्टे साउलोले भनिन्, “तीव्र अल निनोको प्रभावका लागि हामी तयार हुनैपर्छ, किनकि यसले खडेरी र भारी वर्षा बढाउनेछ । जमिन र समुद्र दुवैमा लूको जोखिम पनि बढाउनेछ ।”

डब्लूएमओले मौसमको यो ढाँचाले क्षेत्रीय जलवायुलाई प्रभावित गर्ने र विश्वव्यापी तापक्रम वृद्धि गराउने जनाएको छ । दक्षिण अमेरिका, अमेरिकाको दक्षिणी क्षेत्र, अफ्रिकाको हर्न क्षेत्र तथा मध्य एसियाका केही भागहरूमा वर्षामा वृद्धि हुने पूर्वानुमान छ ।

डब्लूएमओका अनुसार अल निनोले अस्ट्रेलिया, मध्य अमेरिका, इन्डोनेसिया तथा दक्षिण एसियाका केही भागहरूमा खडेरी निम्त्याउन सक्छ । यसले मध्य तथा पूर्वी प्रशान्त क्षेत्रमा आँधीबेहरीको निर्माणलाई पनि बढावा दिन सक्ने पूर्वानुमान छ ।

डब्लूएमओकी महासचिव सेलेस्टे साउलोले अत्यधिक गर्मीसँग सम्बन्धित अन्य जोखिमहरूमा लामखुट्टेबाट फैलिने रोगहरूको व्यापक प्रकोप तथा खाद्य र खानेपानीको आपूर्तिमा आउन सक्ने कमी पनि सामेल रहेको बताएकी छन् ।

उनले भनिन्, “पहिलेदेखि नै विभिन्न संकटसँग जुधिरहेका समुदायहरू यसका कारण अझ बढी जोखिमपूर्ण अवस्थामा पुग्नेछन् ।”

साउलोका अनुसार जलवायुजन्य असरहरूले कृषि उत्पादनमा दबाब सिर्जना गर्न सक्ने भएकाले खाद्य सुरक्षामा चुनौती थपिन सक्छ ।

इरान युद्धका कारण उत्पन्न भू–राजनीतिक तनाव र अल निनोको सम्भावित प्रभावले खाद्य पदार्थको मूल्य अझ महँगो हुन सक्ने आकलन गरिएको छ ।

Comment


Related News