रौतहटको कटहरिया नगरपालिका–२ हथियाहीका कार्यालय सहयोगी श्रीराउत बरै यतिबेला क्यान्सर रोगसँग संघर्ष गरिरहेका छन्। भरतपुरस्थित क्यान्सर अस्पतालमा विगत डेढ महिनादेखि उपचाररत बरै आर्थिक अभावका कारण थप समस्यामा परेका छन्।
परिवारका अनुसार उनको स्वास्थ्य अवस्था जटिल रहेकाले निरन्तर उपचार, औषधि तथा नियमित स्वास्थ्य निगरानी आवश्यक छ। तर उपचार खर्च बढ्दै जाँदा परिवारलाई आर्थिक व्यवस्थापन गर्न कठिन भइरहेको छ।
समाजसेवी विनोदलाल कर्णका अनुसार बरैले कटहरिया नगरपालिकाबाट पाउनुपर्ने करिब २० महिनाको तलब हालसम्म प्राप्त गरेका छैनन्। लामो समयदेखि पारिश्रमिक रोकिँदा परिवारको आर्थिक अवस्था कमजोर बनेको र बिरामी परेपछि समस्या झन् जटिल भएको उनको भनाइ छ।
“एकातिर रोगसँग संघर्ष गरिरहेका छन् भने अर्कोतिर आर्थिक अभावले परिवारलाई थप पीडा दिएको छ,” कर्णले भने, “उपचार, औषधि, अस्पतालमा कुरुवा बस्ने तथा आवतजावतको खर्च जुटाउन परिवारलाई निकै कठिन भइरहेको छ।”
हाल बरैको उपचार तथा हेरचाहमा उनका ज्वाइँ महेन्द्र प्रसाद चौरसिया खटिएका छन्। अस्पतालमा बिरामीको रेखदेखदेखि औषधि व्यवस्थापनसम्मका जिम्मेवारी उनले सम्हाल्दै आएका छन्। तर लामो उपचार र बढ्दो खर्चका कारण परिवार आर्थिक संकटमा परेको बताइएको छ।
तलब नपाएको विषयमा बढ्यो असन्तुष्टि
कटहरिया नगरपालिकामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले लामो समयदेखि तलब नपाएको भन्दै गत जेठ ११ गतेदेखि आन्दोलन गरिरहेका छन्। सुरुमा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पन्तको कार्यकक्ष बाहेक अन्य सबै कक्षमा तालाबन्दी गरिएको थियो। समस्या समाधानतर्फ कुनै पहल नभएको भन्दै गत सोमबार कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन्।
आन्दोलनरत कर्मचारी मुकुन्द यादवले लामो समयदेखि तलब नपाउँदा कर्मचारीहरू आर्थिक तथा मानसिक समस्यामा परेको बताएका छन्। उनका अनुसार नगरपालिकाले कर्मचारीहरूको जायज मागप्रति बेवास्ता गर्दै आएको छ।
कर्मचारी रामानन्द पासवानले पटक–पटक आवाज उठाउँदा नगरपालिकाले एक–दुई महिनाको तलब मात्रै उपलब्ध गराउने गरेको र मूल समस्या समाधान हुन नसकेको गुनासो गरेका छन्। नियमित तलब नपाउँदा दैनिक जीवन सञ्चालनमै समस्या भएको उनको भनाइ छ।
उनले क्यान्सरबाट पीडित बरै आर्थिक अभावका कारण अस्पतालबाट डिस्चार्ज हुन नसकेको उल्लेख गर्दै नगरप्रमुख अजय प्रकाश जयसवाललाई कर्मचारीहरूको बाँकी तलब तत्काल भुक्तानी गर्न आग्रह गरेका छन्।
आन्दोलनका कारण नगरपालिकाको दैनिक प्रशासनिक सेवा प्रभावित बनेको छ। आन्दोलनरत कर्मचारीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
यसैबीच कटहरिया–४ का वडा अध्यक्ष चन्दन कुशवाहाले नगरपालिकाका सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरूलाई क्यान्सरपीडित श्रीराउत बरैको उपचारमा सहयोग गर्न हार्दिक अपिल गरेका छन्।


