२०८३ जेष्ठ २१, बिहीबार ०७:३०

शुरुदेखि नै विवादित रहँदै आएका जानकी मेडिकल कलेज तथा रामजानकी हेल्थ फाउन्डेसनका समेत अध्यक्ष रहेका ओमप्रसाद पाण्डेलाई कृत्रिम व्यवसाय (शेल कम्पनी) खडा गरी बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

अध्यक्ष ओमप्रसाद पाण्डेलाई बैंकिंग कसुरसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) को टोलीले उनलाई धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेज परिसरबाट नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरी स्रोतले जनाए अनुसार अध्यक्ष पाण्डेविरुद्ध बैंकिंग कसुरसम्बन्धी उजुरी तथा अनुसन्धान चलिरहेको थियो ।

सोही अनुसन्धानका क्रममा सीआईबीको टोलीले उनलाई पक्राउ गरेको छ । घटनाबारे थप कानुनी प्रक्रिया अगाडि बढाइएको बताइएको छ । अध्यक्ष पाण्डेले प्रभु बैंकबाट लिएको कर्जाको प्रयोग र व्यवस्थापनमा गम्भीर अनियमितता देखिएपछि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान थालिएको छ ।

सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले जनाए अनुसार उच्च अदालत पाटनबाट पक्राउ अनुमति प्राप्त भएपछि पाण्डेविरुद्धको अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनले कृत्रिम व्यावसायिक संस्था खडा गरी आवश्यक प्रक्रिया पूरा नगरी कर्जा लिएको, धितो सम्पत्तिको मूल्य अस्वाभाविक रूपमा बढाएर देखाई ऋण स्वीकृत गराएको तथा कर्जा रकम तोकिएको उद्देश्यभन्दा फरक क्षेत्रमा खर्च गरेको देखिएको प्रहरीले जनाएको छ ।

अव्यवस्थित र अपारदर्शी कलेजको हालबेहाल

वि.सं. २०५६ मा धनुषाको रमदैयालाई मेडिकल हबको रुपमा अगाडि बढाउने भन्दै जानकी मेडिकल कलेजका संस्थापक अध्यक्ष डा. रामानन्द सिन्हाले त्यहाँका स्थानीय किसानहरुसंग जमिन लिएर स्थापना गरेको थियो । त्यतिबेला किसानले साढे सात विगाह जग्गा प्रतिकट्ठा १५ हजार रुपैयाँका दरले कलेजलाई बेचेका थिए ।

जग्गा जमिन बेच्ने किसान परिवारका एकजनालाई सोही कलेजमा जागिर दिनुपर्ने शर्त उनीहरुले राखे । शर्त स्वीकार्दै कलेजका संस्थापक सिन्हाले सस्तोमै जमिन खरिद गरे । स्थापनाकालमा जनकपुरधाम क्षेत्रकै लोकप्रिय कलेजसमेत बन्न पुग्यो । तर केही वर्ष नवित्दै विभिन्न खाले समस्याहरु उत्पन्न हुन थालेपपछि कलेज भित्र विवाद पनि चर्किदैँ गयो । पछि कलेजका संस्थापक सिन्हा केही कारणवश कलेज बिक्री गरी बाहिरिए । त्यसको केही समयपछि सर्लाहीवासी ओमप्रसाद पाण्डेले सो कलेज लिए ।

तर उनले कलेज आफ्नो हातमा लिएदेखि नै कर्मचारी आन्दोलन, विद्यार्थी आन्दोलन, व्यवस्थापन पक्षबीचको विवाद, स्थानीयहरुलाई विगतमा दिएको जागिरको आश्वासनले गर्दा पनि कलेज विवादरहीत बन्न पुगेन । जानकी मेडिकल कलेज विगत केही वर्षदेखि विभिन्न विवाद र समस्याका कारण चर्चामा रहँदै आएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूले पटकपटक पठनपाठन नियमित गर्न, शैक्षिक वातावरण सुधार गर्न तथा आवश्यक शैक्षिक सेवा उपलब्ध गराउन माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

विद्यार्थीहरूले कलेज प्रशासनको व्यवस्थापन शैलीप्रति असन्तुष्टि जनाउँदै कक्षाहरू नियमित सञ्चालन गर्न दबाब दिँदै आएका थिए । त्यस्तै कलेजका कर्मचारी तथा प्राध्यापकहरूले पनि तलब तथा सेवासुविधा सम्बन्धी माग राख्दै विभिन्न समयमा आन्दोलन गरेका घटनाहरू सार्वजनिक भएका छन् । कर्मचारीहरूले लामो समयसम्म तलब भुक्तानी नपाएको भन्दै विरोध कार्यक्रम सञ्चालन गरेका थिए ।

यस्ता आन्दोलनका कारण कलेजको शैक्षिक गतिविधि प्रभावित भएको र पठनपाठनसमेत पटकपटक अवरुद्ध भएको आरोप लाग्दै आएको छ । कलेजको व्यवस्थापन र आर्थिक अवस्थाबारे पनि विभिन्न प्रश्नहरू उठ्दै आएका छन् । सरोकारवालाहरूले कलेजमा शैक्षिक गुणस्तर, प्रशासनिक पारदर्शीता तथा वित्तीय अनुशासनको विषयमा चिन्ता व्यक्त गर्दै आएका छन् । सो घटनाक्रमलाई नियाल्दै प्रभु बैंकले कलेजमै आफ्नो शाखासमेत स्थापना गरे ।

सो कलेजबाट आउने सम्पूर्ण रकम बैंकले लिदैँ आएको कलेज स्रोतले जनाएको छ । अध्यक्ष पाण्डेको अपारदर्शी व्यवहारका कारण बैंकले समेत उनीलाई विश्वासमा लिन सकेनन् । यता विभिन्न समस्या र विवादका बीच पनि जानकी मेडिकल कलेजले सरकारबाट प्राप्त हुने निश्चित शैक्षिक तथा संस्थागत सुविधाहरू पाइरहेको विषयमा समेत सार्वजनिक बहस थालिएको छ । सरोकारवालाहरूले संस्थाको अवस्था र सेवा प्रवाहको प्रभावकारिताका आधारमा सरकारी अनुगमन तथा मूल्यांकन थप प्रभावकारी हुनुपर्ने धारणा व्यक्त गर्दै आएका छन् ।

अध्यक्ष पाण्डे पक्राउ परेपछि कलेजको भविष्य, विद्यार्थीहरूको अध्ययन, कर्मचारीहरूको सेवासुविधा तथा संस्थाको समग्र व्यवस्थापनबारे पुनः प्रश्न उठ्न थालेको छ । यस घटनाले मेडिकल शिक्षाको गुणस्तर, निजी शैक्षिक संस्थाको उत्तरदायित्व तथा नियामक निकायहरूको भूमिकामाथि समेत बहस सिर्जना गरेको छ । प्रहरीले भने बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेको जनाएको छ । अदालतमा मुद्दाको प्रक्रिया अगाडि बढेसंगै घटनाको थप विवरण सार्वजनिक हुने छ ।

Comment


Related News

Latest News

Trending News