महोत्तरीमा बालक अपहरण प्रयासमा संलग्न रहेका आरोपमा एकजना फरार व्यक्तिलाई रौतहटबाट पक्राउ गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाए अनुसार पक्राउ पर्ने व्यक्ति रौतहट जिल्लाको गढीमाई नगरपालिका–७ निवासी २३ वर्षीय नवराज अधिकारी छन् । गत वैशाख ७ गते दिउँसो करिब २ बजे महोत्तरीबाट तीन जना अज्ञात व्यक्तिले नम्बर नखुलेको मोटरसाइकलमा एक ८ वर्षीय बालकलाई जबरजस्ती राखी अपहरण गर्ने प्रयास गरेका थिए ।
बालकले चिच्याएर सहायता मागेपछि स्थानीय बासिन्दाले घटनालाई देखेर मोटरसाइकल रोक्न खोजेका थिए । स्थानीयको प्रतिरोधपछि अपहरणकारीहरूले बालकलाई घटनास्थलमै छाडेर फरार भएका थिए । घटनाको अनुसन्धानका क्रममा प्रहरीले वारदातमा प्रयोग भएको ना ६४ प ७९९० नम्बरको मोटरसाइकल बरामद गरेको थियो।
अनुसन्धानकै क्रममा संलग्न प्रतिवादीमध्येका नवराज अधिकारीलाई गत जेठ १५ गते दिउँसो करिब ३स्३० बजे पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको सहयोगमा महोत्तरीबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका–५ स्थित हस्पिटल चोकबाट उनलाई नियन्त्रणमा लिएको थियो ।
महोत्तरी प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पन्चलाल गोलेका अनुसार पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धानका लागि महोत्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरिएको छ । यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान कार्य जारी रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

