बक्यौता तलबको माग गर्दै रौतहटको कटहरिया नगरपालिकामा गरिएको तालाबन्दी सहमतिपछि खुलेको छ। कर्मचारी र पालिका बीच भएको छलफलपछि तलब भुक्तानी गर्ने सहमति जुटेसँगै नगरपालिका तथा वडा कार्यालयहरू पुनः सञ्चालनमा आएका छन्।
मेयर अजय प्रकाश जैसवालका प्रतिनिधि नगर कार्यपालिका सदस्य मनोज जैसवालका अनुसार कर्मचारीहरूको रोकिएको तलब जेठ मसान्तभित्र भुक्तानी गर्ने सहमति भएको छ। साथै क्यान्सरपीडित कर्मचारी श्रीराउत बरैलाई तलबको ५० प्रतिशत रकम तत्काल नगद उपलब्ध गराउने निर्णय पनि गरिएको उनले जानकारी दिए।
“वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी तथा सरोकारवालाबीचको छलफलपछि समस्या समाधान भएको हो। बैंक खाता सञ्चालनमा आएलगत्तै तलब भुक्तानी हुन्छ,” उनले भने।
उनका अनुसार बाह्य दबाब वा राजनीतिक हस्तक्षेपका कारण नभई पालिकाभित्रकै आपसी समझदारीबाट समस्या समाधान गरिएको हो।
यस्तै वडा नं। ८ का अध्यक्ष समिश विक्रम साहले सर्वसम्मत निर्णयपछि तालाबन्दी खोलिएको बताएका छन्। उनले यसपटक कर्मचारीहरूले निश्चित रूपमा तलब पाउने विश्वास व्यक्त गरेका छन्।
वडा २ का अध्यक्ष हरिन्द्र साह कलवारले क्यान्सरपीडित कर्मचारीको उपचार सहयोगका लागि १ लाख २५ हजार रुपैयाँ व्यक्तिगत खातामा संकलन भइसकेको जानकारी दिएका छन्। तलब निकासा भएपछि उक्त रकम फिर्ता गरिने समझदारीसमेत भएको उनले बताएका छन्।
तलब भुक्तानीमा ढिलाइको कारणबारे आगामी कार्यपालिका बैठकमा गम्भीर समीक्षा गरिने जनाइएको छ।
तालाबन्दीका कारण लामो समयदेखि प्रभावित बनेको नगरपालिका तथा वडा कार्यालयका सेवाहरू अब पुनः नियमित रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ। तलबको माग गर्दै आन्दोलित कर्मचारीले दुईसाता देखि पालिकाको नौ वटै वडा कार्यालयमा तालाबन्दी गरेका थिए। त्यस्तै प्रमुख प्रशासकीय अधिकृत को कार्यकक्षमा गत ११ गतेदेखि र पालिकाको मूल गेटमा चारदिन अघि देखी तालाबन्दी गरेका थिए।

