२०८३ जेष्ठ २१, बिहीबार ११:५५

सभामुख डोल प्रसाद अर्यालले जातीय विभेद र छुवाछूतविहीन समाज निर्माण गर्दै हरेक नेपालीको मर्यादा, स्वाभिमान र समान अधिकारको ग्यारेन्टी गर्नुपर्ने बताउनुभएको छ ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा दलित आयोगले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख अर्यालले दलित समुदायको अधिकार संरक्षण र प्रवद्र्धनमा थप सक्रिय भूमिका निर्वाह गर्दै जातीय विभेद र छुवाछूतविहीन समाज निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

दलित समुदायले भोग्दै आएको समस्या, पीडा र चुनौतीप्रति पूर्णरूपले सचेत रहेको भन्दै उहाले समस्याको गाम्भीरतालाई महसुस गर्दै संसद यसको समाधानका लागि प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।

जातीय विभेद र छुवाछूतको अन्त्य केवल सरकार, आयोग वा कुनै एक निकायको जिम्मेवारी मात्र नभइ राज्य, राजनीतिक दल, नागरिक समाज लगाएत सवैको साझा दायित्व भएको उहाले बताउनुभयो ।

सभामुख अर्यालले सामाजिक चेतना, कानुनी कार्यान्वयन र आर्थिक सशक्तिकरण नभएसम्म पूर्ण परिवर्तन ल्याउन कठिन रहेको जिकिर गर्नुभयो । दलित समुदायको मूल प्रवाहीकरण, सशक्तिकरण तथा समान सहभागिताका लागि आवश्यक कानून निर्माण, संशोधन र कार्यान्वयनको विषयमा संसद पूर्णरूपले गम्भीर रहेको समेत उहाले बताउनुभयो ।

कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले छुवाछूत, भेदभाव जस्तो गम्भीर अपराधको अन्त्य नहुँदासम्म सामाजिक न्याय प्राप्ति सम्भव नहुने धारणा राख्नुभयो । समग्रमा छुवाछूत, भेदभाव लोकतान्त्रिक र न्यायिक समाजको बाधक भएकाले अन्त्यका लागि हातेमालो गर्दै सशक्त अभियान सञ्चालन गर्न उहाले अपील गर्नुभयो । उहाले दलित, अति सीमान्तरकृत , पछाडि पारिएका समुदायको संरक्षण र सशक्तिकरण र विकासको लागि मन्त्रालयले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

नेपालमा दलित समुदायमाथि हुँदै आएको जातीय भेदभाव तथा छुवाछूत प्रथाको अन्त्य गर्ने प्रणसहित २०६३ साल जेठ २१ गते तत्कालीन व्यवस्थापिका संसद्ले ‘छुवाछूतमुक्त राष्ट्र’ घोषणा गरेको थियो । उक्त दिनको स्मरणमा त्यसयता नेपालमा हरेक वर्ष जेठ २१ मा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउने गरिएको छ । सरकारले जातीय विभेद र छुवाछूत अन्त्यको घोषणा गरेपनि समाजमा दलित समुदायमाथि अझै पनि विभेद र बहिष्करण भोग्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News