२०८३ जेष्ठ २१, बिहीबार १६:२६

बौधीमाई नगरपालिकाका मेयर प्रदीप यादवमाथि आफ्नै मातहतमा कार्यरत शिक्षकलाई बन्धक बनाई कुटपिट गरेको गम्भीर आरोप लागेपछि पीडित पक्षले अन्ततः पुनरावेदनमार्फत मुद्दा दर्ता गराएको छ। पटक–पटक जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय धाउँदा पनि न्याय नपाएको गुनासो गर्दै शिक्षकले उच्च निकायमार्फत कानुनी प्रक्रिया अघि बढाएका हुन्।

शंकर गुदर माध्यमिक विद्यालय, सरमुजावामा कार्यरत शिक्षक रामबाबु यादवले आफूलाई छलफलका लागि भन्दै नगरपालिकामा बोलाएर अमानवीय व्यवहार गरिएको आरोप लगाएका छन्। उनका अनुसार नगरपालिकाका लेखापाल र शिक्षा संयोजक रमेश यादवको आग्रहमा शुक्रबार कार्यालय पुगेपछि उनलाई मेयर प्रदीप यादव, वडाध्यक्ष विन्देश्वर यादव र कार्यपालिका सदस्य सुनिल जयसवालसहितको समूहले कोठाभित्रै नियन्त्रणमा राखेको थियो।

पीडित शिक्षकका अनुसार उनलाई दिउँसो करिब २:३० बजेदेखि राति ९ बजेसम्म बाहिर निस्कन नदिई मानसिक दबाब, गालीगलौज तथा कुटपिट गरिएको थियो। घटनाका क्रममा हात भाँचिएको र ज्यान मार्ने धम्कीसमेत दिइएको उनले आरोप लगाएका छन्।

न्यायको माग गर्दै प्रहरी र प्रशासन धाउँदा पनि प्रभावकारी सुनुवाइ नभएको भन्दै अन्ततः उनले पुनरावेदनमार्फत मुद्दा दर्ता गराएका हुन्। घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न स्थानीयवासी तथा सरोकारवालाले माग गरेका छन्।

यता मेयर प्रदीप यादवले भने आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन्। उनका अनुसार शिक्षक रामबाबु यादवले सामाजिक सञ्जालमा नगर नेतृत्वविरुद्ध अभद्र टिप्पणी गरेपछि स्पष्टीकरणका लागि मात्रै बोलाइएको हो। “थुनछेक वा कुटपिट गरिएको होइन, केवल नैतिकताको विषयमा छलफल भएको हो,” मेयर यादवको दाबी छ।

स्थानीयवासीले भने यो घटनालाई अलग्गै विषय नभई निरन्तर विवादको श्रृंखला भएको टिप्पणी गरेका छन्। मेयर यादवमाथि यसअघि पनि कर्मचारी तथा जनप्रतिनिधिमाथि दुर्व्यवहारका विभिन्न आरोप सार्वजनिक हुँदै आएका छन्।

लगातार गम्भीर आरोपहरू सार्वजनिक भइरहँदा पनि सम्बन्धित निकायबाट ठोस कदम नचालिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याउन माग गरेका छन्।

Comment


Related News

Latest News

Trending News